काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालले मंगलबार आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग सामना गर्ने भएकाे छ।
साेही खेल भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा मंगलबार बेलुका सवा ७ बजेदेखि शुरु हुने भएकाे हाे । यसअघि नेपाल आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रन, दोस्रो खेलमा इटालीसँग १० विकेटले र तेश्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको थियो । नेपाल समूह चरणबाट बाहिरिसकेको छ । नेपाली क्रिकेट टोलीको यस पटकको विश्वकप यात्रा सुखद हुन सकेन ।
कुनै पनि अंक जोड्न नसकेको नेपाल समूह ‘सी’को अंक तालिकामा पुछारमा रहेकाे छ । लगातार ३ खेलमा जीत निकालेको वेस्ट इन्डिज र ४ खेलमा ३ जित निकाल्दै इंग्ल्याण्ड ६ अंकसहित समूह ‘सी’बाट सुपर आठमा पुगेका छन् । मंगलबारै बिहान सवा ११ बजेदेखि भारतको चन्नईमा क्यानाडा र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने भएकाे छ। त्यस्तै, मंगलबार दिउँसो सवा ३ बजे श्रीलंकाको पल्लेकलेमा आयरल्यान्ड र जिम्बाबेबीच पनि खेल हुने भएकाे छ । यसअघि साेमबार भएका खेलमा आयाजक श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै समूह ‘बी’बाट सुपर आठमा पुग्यो ।
साेमबारै भएको खेलमा इंग्ल्याण्डले इटालीलाई २४ रनले र अफगानिस्तानले यूएईलाई ५ विकेटले पराजित गरेका छन् ।






प्रतिक्रिया दिनुहोस्