Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


प्रतिनिधिसभा सदस्य निर्वाचन : १८ गते मध्यरातदेखि मौन अवधि शुरु हुने


195
Shares

काठमाडाैं । आगामी २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । 

निर्वाचन आयोगले फाल्गुन ३ गते राती १२ बजेदेखि निर्वाचन प्रचार प्रसारको १५ दिने समय सीमा शुरु भएको घोषणा गरेको हो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार राजनीतिक दल र उमेदवारहरूले फाल्गुन १८ गते राती १२ बजेसम्म मात्र जुलुस, आमसभा र प्रचार प्रसारका कार्यक्रमहरू गर्न पाउनेछन् । त्यसपछि ‘मौन अवधि’ शुरु हुने र यस समयमा कुनैपनि प्रकारका चुनावी गतिविधि, छलफल वा ‘कानेखुसी’ गर्न समेत निषेध गरिएको छ ।

राजनीतिक दलहरूले निर्वाचन खर्चका लागि अनिवार्य रूपमा छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनु भयो । आमसभा वा कोणसभा गर्दा मञ्च तयारीमा लागेको खर्चको विवरण उमेदवार स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ । स्वेच्छिक आर्थिक सहयोग लिँदा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिधिभित्र रहनुपर्ने आयोगको स्पष्ट निर्देशन छ ।

भण्डारीकाअनुसार नेपाल सरकार, प्रदेश सरकार र मन्त्रीहरूले निर्वाचन प्रचार प्रसारमा संलग्न हुँदा सरकारी स्रोत र साधनको प्रयोग गर्न पाउने छैनन् । यसको कडा निगरानीका लागि केन्द्रिय र जिल्ला स्तरीय अनुगमन समितिहरू सक्रिय पारिएको उहाँले बताउनु भयो । अधिकांश दलहरूले निर्वाचनका लागि आफ्नो घोषणा पत्र वा प्रतिवद्धता पत्र आयोगमा पेश गरिसकेको बताउनु भयो । आईतवार रातीसम्मको समय सीमा तोकिएको र केही दलहरू अझै प्रक्रियामा रहेको आयोगले जानकारी दिएको बताउनु भयो । मुलुकको सुशासन र विकासका योजनाहरू समेटिएको यो दस्तावेज दलहरूको कानूनी र नैतिक दायित्व रहेको कार्यवाहक आयुक्त भण्डारीले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘४ गते देखि १८ गतेसम्म यो निर्वाचन प्रचार प्रसार गर्न पाउने अवधि हो र १८ गते राती १२ बजेबाट मौन अवधि शुरु हुन्छ । १८ गते राती १२ बजेपछि कुनैपनि प्रचार प्रसार गर्न पाइँदैन । काने खुसी, साउती, मस्तिष्क मन्थन पनि गर्न पाइँदैन, त्यो विश्राम गर्ने बेला हो । र विश्राम पूर्वको अवस्था र स्थितिमा आचार संहिता परिपालना गरेर दलहरुले के काम गर्न हुने र नहुने लगायतका विषयवस्तुहरु मैले यहाँहरुलाई पस्कें । अब यहाँहरुको केही जिज्ञासा छ, त्यो जिज्ञासालाई सम्बोधन गरौं । घोषणा पत्र दलहरुले सबै दलहरुले तपाईहरुले तोकेको मितिमा सार्वजनिक गरे त भन्ने एउटा टड्कारो प्रश्न छ । यो प्रश्नको उत्तर मैले कसरी सम्बोधन गरौं, अधिकांश दलहरुले पेश गरिरहनुभएको छ । आज भरे सम्म पेश गर्ने टाइम छ, हामी अलिकति समय अगावै छौं । भरेसम्म पेश हुनसक्छ । र यो सन्दर्भमा चाहिँ के हो भनेदेखि दलहरुले कानूनी दायित्वबाट उन्मुक्ति पाउनुहुन्न भनेर निर्वाचन आयोगले समयमै दलहरुलाई आग्रह गरेको तपाईंले निर्वाचनमा प्रतिष्पर्धा गर्ने जाने प्रयोजनको लागि तपाईंको योजना के छ ? कार्यक्रम के छ ? विकास निर्माण गर्ने लगायतका विषयवस्तुहरु के के छन् ? मुलुकमा अग्रगामी निकास राख्ने सुशासन प्रवाह गर्ने लगायतका विषयवस्तुहरुलाई यहाँहरुले कसरी सम्बोधन गर्नुभएको छ ? तपाईंहरुको घोषणा पत्र मार्फत सम्बोधन कसरी गर्नुभएको छ ? ती विषयवस्तुहरु समेटिएको घोषणा पत्र पेश गर्नुस् भनेर दलहरुलाई आग्रह गरेको हो ।’
आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अधिकार सुरक्षित गर्न कर्मचारी, सुरक्षा निकाय, पर्यवेक्षक र आम मतदातालाई सहयोगको अपिल गरेको छ ।