काठमाडौं । महाशिवरात्रि पर्व आइतबार देशैभरीका शिवालयमा विधिपूर्वक पूजा-आराधना एवम् दर्शन गरी मनाइँदैछ ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमाआइतबार बिहानैदेखि चहलपहल शुरु भएको हो । आइतबार बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र साधुसन्तको घुइँचो लागेको छ । यस वर्ष ८ लाख भन्दा बढी दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
पशुपति क्षेत्र आसपासमा गाडीको आवागमनमा विशेष व्यवस्थापन गरिएको छ । कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको हो । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ ।
पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन अवस्थामा गाडीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको हो । कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले दर्शनार्थीको लागि चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको बताउनुभयो । सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीलाई सहज रूपमा आवत–जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन मिलाएको छ ।
गौशाला क्षेत्र भई चक्रपथमा चल्ने गाडी भिडभाड हेरेर सञ्चालन गर्न नसक्ने अवस्था आए मात्रै गौशाला क्षेत्रमा आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको तयारी छ । चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा गाडी चलाउने व्यवस्था मिलाइएको छ । तर आवागमनमा कुनै समस्या हुने अवस्थामा भने डाईभर्सन गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था समेत मिलाउने योजना रहेको कोषले जनाएको हो ।
तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक गाडीलाई निषेध गरिएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउनेलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई गाडी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ र सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्नेलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको कोषले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्