काठमाडाैं । ‘काठमाडौंको पूर्वी भेगमा अवस्थित पाशुपत क्षेत्र, जहाँ वागमतीको पवित्र जलसँगै आस्थाको अनन्त सागर बग्छ । महाशिवरात्रीको आगमनसँगै यो क्षेत्र एक अलौकिक उर्जाले भरिन्छ ।
भारत र नेपालका कुना–कन्दराबाट आएका हजारौँ साधु, सन्त र नागा बाबाहरूको उपस्थितिले पशुपतिलाई ‘शिवपुरी’ मा परिणत गरिदिन्छ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरले नयाँ काँचुली फेर्दैछ । बाँसका खटहरू ठडिँदै छन् । र भक्तजनहरूको लर्को लाग्न थालेको छ । यो केवल ढुङ्गा र माटोको संरचना मात्र होइन यो करोडौँ हिन्दुहरूको आस्थाको केन्द्रबिन्दु हो, जहाँ शिव स्वयं किराँतेश्वर रूपमा विराजमान छन् ।
हिमालयका कन्दराहरूदेखि भारतका अखाडाहरूबाट लामो यात्रा तय गरेर यहाँ आइपुगेका छन् बाबाजीहरु । कसैका जटाहरू भुइँ छुने लामा छन्, त कोही मौन तपस्यामा लिन छन् । सांसारिक मोह त्याग गरेका यी साधुहरूको अनुहारमा एक प्रकारको अनौठो तेज र शान्ति देखिन्छ । शिवरात्रीको अर्को आकर्षण हुन् यी नागा र अघोरी बाबाहरू । गलामा रुद्राक्षका माला, जसलाई शिवको आँशु मानिन्छ । शरीरमा बाघको छालाको ढाँचा भएका बस्त्रहरू । यी केवल पहिरन होइनन्, यी शिवको रौद्र र सौम्य रूपका प्रतीक हुन् । उनीहरूको यो विचित्र वेशभूषाले समाजको स्थापित नियमहरू भन्दा परको आध्यात्मिक स्वतन्त्रतालाई झल्काउँछ । शरीरमा घसिएको यो भष्म अर्थात खरानीले जीवनको नश्वरतालाई जनाउँछ- ‘अन्ततः सबै खरानी भएर जानेछ ।’
चिसो रातमा बल्ने यी धुनीहरूले केवल शरीर मात्र तताउँदैनन्, यसले अज्ञानताको अन्धकारलाई हटाएर ज्ञानको प्रकाश छर्ने विश्वास गरिन्छ । शिवलाई धतुरो र गाँजा प्रिय लाग्छ भन्ने जनविश्वास छ । साधुहरू चिलिमको धुवाँसँगै गहिरो ध्यानमा प्रवेश गर्छन् । उनीहरूका लागि यो नशा होइन, यो शिवसँग एकाकार हुने एक माध्यम हो ।
जसलाई उनीहरू ‘प्रसाद’ को रूपमा ग्रहण गर्छन् । पशुपतिनाथको यो पावन भूमिमा अहिले मानिस र देवता बीचको दूरी मेटिए जस्तो भान हुन्छ । धुनीको राप, चिलिमको धुवाँ र ‘जय शम्भो’ को जयघोषले वातावरणलाई गुञ्जयमान बनाएको छ ।






प्रतिक्रिया दिनुहोस्