एजेन्सी । बंगलादेशको राजनीतिक परिदृश्यमा ठूलो फेरबदल आएको छ ।
सम्पन्न आम निर्वाचनमा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोरा एवं बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का अध्यक्ष तारिक रहमानको नेतृत्वकाे पार्टीले भारी बहुमत प्राप्त गरेको हाे । स्थानीय सञ्चारमाध्यमका अनुसार ३ सय संसदीय सिटमध्ये बीएनपीले हालसम्म २ सय ९ सिटमा विजय हासिल गरिसकेको छ । याे जितसँगै तारिक रहमान बंगलादेशको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देशकाे १२ करोड ७० लाख भन्दा बढी मतदाताहरूले बिहीबार उत्साहपूर्वक मतदान गरेका थिए । यो निर्वाचन केवल नयाँ सरकार छनोटका लागि मात्र नभई देशको भविष्य र संवैधानिक सुधारका लागि पनि महत्वपूर्ण मानिएको छ ।
निर्वाचनसँगै जुलाई राष्ट्रिय बडापत्र सम्बन्धी जनमत संग्रह पनि एकैसाथ आयोजना गरिएको थियो । जसले देशमा व्यापक संवैधानिक परिवर्तनको संकेत गरेको हाे। यस पटकको निर्वाचनमा ५१ वटा राजनीतिक दलका १ हजार ९ सय ८१ उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए । यद्यपि लामो समयसम्म सत्तामा रहेको शेख हसिना नेतृत्वको अवामी लिगलाई निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कारण यस ऐतिहासिक प्रतिष्पर्धामा उनीहरूको उपस्थिति हुन नसकेकाे हाे ।
साेही मतपरिणामले बंगलादेशमा नयाँ राजनीतिक युगको शुरुवात गरेको विश्लेषण गरिएको छ ।






प्रतिक्रिया दिनुहोस्