एजेन्सी । बंगलादेशको १३औँ संसदीय निर्वाचनको बिहीबार भएको मतदानको मतपरिणाम अनुसार तारिक रहमान नेतृत्वको बीएनपीको स्पष्ट अग्रता रहेको छ।
औपचारिक नतिजा भने त्यहाँको निर्वाचन आयोगले शुक्रबार रातिसम्म सार्वजनिक गर्ने अपेक्षा गरिएको अल जजिराले जनाएको हो । देशैभरी करिब ६१ प्रतिशत मतदान भएको आयोगले बताएको छ। यसपटकको चुनाव सन् २०२४ को विद्यार्थी आन्दोलनपछि पहिलो पटक भएको छ । जसले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो । उहाँको दल अवामी लिग यसपटक प्रतिबन्धित भएपछि यो चुनावमा बीएनपी र जमात–ए–इस्लामीबीच प्रतिस्पर्धा भएको हो । अनौपचारिक विवरण अनुसार बीएनपीले ३ सय सदस्यीय संसदमा आफूलाई बहुमत नजिक पुर्याएको भनिए पनि कति सिट प्राप्त गर्यो भन्ने औपचारिक विवरण आउन भने बाँकी रहेको खबरमा उल्लेख छ ।
पार्टीका नेताहरूले जितप्रति आशावादी रहेको भन्दै समर्थकहरूलाई उत्सव र्याली नगर्न र संयमित रहन आग्रह गरेका छन् । तारिक रहमानले शान्तिपूर्ण वातावरण कायम राख्न विशेष प्रार्थना गर्न निर्देशन दिएको खबरमा उल्लेख छ । जमात–ए–इस्लामीका प्रमुखले पनि ठूलो हस्तक्षेप नभए परिणाम स्वीकार गर्ने बताएका छन् । चुनावसँगै ‘जुलाई बडापत्र २०२५’ सम्बन्धी जनमतसंग्रह पनि सम्पन्न भएको छ ।
प्रारम्भिक मतगणना अनुसार करिब ७२ प्रतिशत मतदाता संवैधानिक सुधार प्रस्तावको पक्षमा देखिएका छन् । बडापत्रले प्रधानमन्त्रीका लागि कार्यकाल सीमा, राष्ट्रपतिको अधिकार विस्तार र चुनाव व्यवस्थामा सुधारजस्ता विषय समेटेको छ ।यस चुनावलाई बंगलादेशमा लोकतान्त्रिक अभ्यास पुनःस्थापित गर्ने महत्त्वपूर्ण क्षणका रूपमा हेरिएको छ । औपचारिक नतिजा सार्वजनिक भएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने खबरमा उल्लेख छ । यसअघि बिहबिार मतदानका क्रममा धेरै ठाउँमा झडप भएको थियो ।
खुलनाको एक मतदान केन्द्रबाहिर जमात–ए–इस्लामी कार्यकर्ताहरूसँगको झडपमा बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी० का नेता मोहिबुज्जमान कोचीको ज्यान गएको हो ।त्यस्तै मुन्सीगञ्ज र गोपालगञ्ज सदर क्षेत्रका मतदान केन्द्रहरूबाहिर झडपमा तीन जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।






प्रतिक्रिया दिनुहोस्