Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


म्याग्दीमा बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते


104
Shares

ध्रुवसागर शर्मा, म्याग्दी ।
म्याग्दीको धौलागिरी गाउँपालिका–४, केराबारीमा बिहीबार दिउँसो यात्रुबाहक बलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । नाउराबाट बेनीका लागि छुटेको ग १ च ७२२२ नम्बरको जिप सडकबाट करिब २५ मिटर तल खसेको हो।

दुई घाइतेको अवस्था गम्भीर दुर्घटनामा परी घाइते भएका ६ जनामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेहरूमा म्याग्दीकै धौलागिरी–४ निवासी ४० वर्षीया टिका घर्ती र अछामको तोरमखाँद–५ का २७ वर्षीय खगेन्द्र शाही रहेका छन् ।

शाहीको कम्मरमुनि, खुट्टा र मुखमा गम्भीर चोट लागेको छ। अन्य घाइतेहरूमा रौतहटका ३९ वर्षीय मनिराज लुङ्गेली (मध्यम), अछामका २० वर्षीय निरक शाही (मध्यम), पाँचथरका ३४ वर्षीय पालदिङ तामाङ र म्याग्दीका २२ वर्षीय छयन्द्र घर्ती रहेका छन् । उनीहरू सबैको अहिले आधारभूत स्वास्थ्य चौकी दरवाङमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार जिपमा चालकसहित कुल ७ जना सवार थिए । दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले चालक ३७ वर्षीय नन्द बहादुर सुनारलाई नियन्त्रणमा लिएको छ ।

सुनार म्याग्दीकै धौलागिरी–४ बगरका बासिन्दा हुन् । दिउँसो करिब १ः५० बजे दुर्घटना भएको जानकारी पाएलगत्तै प्रहरी र स्थानीय उद्धारमा खटिएका थिए ।