Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


विचार र राजनीतिक मुद्दाका आधारमा नेकपा नयाँ पार्टी भएकाे संयोजक दाहालकाे दावी

पार्टीका नेता तथा कार्यकर्तालाई योजनावद्ध रूपमा निर्वाचनमा केन्द्रित हुन निर्देशन

39
Shares

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफ्नो पार्टी विचार, नाम र राजनीतिक मुद्दाका दृष्टिकोणले नेपालकै सबै भन्दा नयाँ शक्ति भएको दावी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । उहाँले नयाँ हुनुको अर्थ केवल पुरानाको विरोध गर्नु नभई अग्रगामी विचार र एजेण्डा बोक्नु भएको स्पष्ट पार्नुभयो । उहाँले उपत्यकाभित्र रहेका विभिन्न क्षेत्रका मतदाताहरूलाई निर्वाचनमा सहभागी गराउन र नामावली भएको स्थानमा केन्द्रित गर्न नेता तथा कार्यकर्ताहरूलाई योजनावद्ध र संस्थागत रूपमा लाग्न निर्देशन दिनुभयो ।

संयोजक दाहालले यसको प्रत्यक्ष प्रभाव निर्वाचनको परिणाममा पर्ने भन्दै आजैदेखि तयारी थाल्न आग्रह गर्नुभएकाे छ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको संवाहक र उत्पीडित वर्ग, जाति, तथा समुदायको पहिचान स्थापित गर्ने मुद्दा आफ्नो पार्टीको मुख्य आधार भएको बताउनुभयो । यो विचार भन्दा नयाँ र उन्नत विचार हाल नेपालको राजनीतिमा अन्य कसैको पनि छैन । अहिले सामाजिक सञ्जालमार्फत ‘नयाँ’ हुनुको गलत भाष्य निर्माण गर्न खोजिएकोमा उहाँले आपत्ति जनाउनुभयो ।

संयोजक दाहालले आफूलाई नयाँ भन्ने कतिपय शक्तिहरूलाई वैचारिक रूपमा सबैभन्दा पुराना भएको आरोप लगाउनुभएकाे छ । उदार र दलाल पूँजीवादको पक्षपोषण गर्नेहरू विश्व इतिहासकै पुरानो विचारमा आधारित रहेको भन्दै उहाँले उनीहरू कुनैपनि हालतमा नयाँ हुन नसक्ने जिकिर गर्नुभयो ।