Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


अन्नपूर्ण क्षेत्रमा २६ लाख बढी पर्यटकले गरे भ्रमण


91
Shares

काठमाडाैं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा पछिल्ला २५ वर्षमा २६ लाख ३२ हजार ४ जना विदेशी पर्यटकहरुले भ्रमण गरेकाे बताएकाे छ ।

एक्यापले सन् २००१ मा ६५ हजार ३ सय १३ पर्यटक आएकामा सन् २०२५ मा अहिलेसम्मकै बढी २ लाख ९९ हजार ८ सय ३१ जना पर्यटक भित्रिएकाे जनाएकाे हाे । साेही अवधिमा सबै भन्दा कम सन् २०२१ मा जम्मा १६ हजार १ सय ५ पर्यटकले यस क्षेत्रको भ्रमण गरेको ‘एक्याप’ को आँकडाले देखाएको छ ।

कोभिड–१९ महामारी कारण त्यस वर्ष पर्यटक आगमनमा भारी गिरावट आएको थियो । सन् २००१ देखि सन् २०१० सम्म वार्षिक एक लाख भन्दा कम सङ्ख्यामा पर्यटक आएकामा सन् २०११ को नेपाल भ्रमण वर्षमा भने पर्यटक एक लाख नाघेका थिए । साेही वर्ष एक लाख एक हजार ९ सय ८ जना पर्यटक यस क्षेत्रमा भित्रिएका थिए । त्यसपछि सन् २०१५ मा गएको गोरखा भूकम्पका कारण पनि पर्यटक आगमन घटेर ७८ हजार ९ सय ३० पुगेको थियो ।

त्यसयता बर्सेनी बढ्दै आएको पर्यटक सङ्ख्या सन् २०२० र सन् २०२१ को कोरोना महामारीका बेला घट्न पुगेको थियो । सन् २०२२ पछि भने पुनः पर्यटक सङ्ख्या बढेको देखिन्छ । सन् २०२२ मा एक लाख २९ हजार ७ सय २३, सन् २०२३ मा एक लाख ९१ हजार ५ सय ५८, सन् २०२४ मा दुई लाख ४४ हजार ३९ र गएको वर्ष अर्थात सन् २०२५ मा दुई लाख ९९ हजार ८ सय ३१ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेकाे एक्यापले जनाएकाे हाे ।