Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


जापानमा तल्लो सदनको ४६५ सदस्य चयनका लागि मतदान जारी

प्रधानमन्त्री ताकाइचीको नेतृत्वमाथि जनमत परीक्षण हुँदै

117
Shares

एजेन्सी । जापानमा तलो सदनको आइतबार मतदान जारी रहेको छ ।

जापानको तल्लो सदनको ४ सय ६५ सदस्य चयनका लागि आइतबार बिहानदेखि मतदान जारी रहेको हो । जापानको निर्वाचन आयोगले साढे १० करोड भन्दा बढी मतदाता रहेको जनाएको छ । २ सय ८९ प्रत्यक्ष र १ सय ७६ समानुपातिक गरी कूल ४ सय ६५ सिटका लागि प्रतिस्पर्धा हुँदैछ । यो चुनावबाट प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमाथि जनमत परीक्षण हुने भएको छ । ताकाइचीको पार्टी लिबरल डेमोक्र्याटिक (एलडिपी) को तल्लो सदनमा यसअघि १ सय ९८ सांसद थिए । ४ सय ६५ सदस्यीय प्रतिनिधि सभा ९तल्लो सदन० मा बहुमतका लागि २ सय ३३ सांसद आवश्यक हुन्छ ।

एलडीपी एक्लैको बहुमत नभएका कारण ताकाइची गठबन्धन सरकारको प्रधानमन्त्री हुनुहुन्थ्यो । गठबन्धनमा साझेदार जापान इनोभेसन पार्टी (इशिन) रहेको थियो । गठबन्धनमा काम गर्न सहज नभएको भनेर उहाँले हालै संसद विघटन गरेर चुनाव घोषणा गर्नुभएको थियो ।

अहिले विपक्षी ठूलो दल सेन्ट्रिस्ट रिफर्म एलायन्स छ । चिसो र हिमपातकाबीच ३६ वर्षपछि पहिलो पटक जाडो मौसममा जापानमा चुनाव भएको हो । मतदान सकिए लगत्तै प्रारम्भिक नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ । यसअघि २ करोड ७ लाख ९६ हजार भन्दा बढी मतदाताले अग्रिम मतदान गरेका छन् । सोही मतदान आइतबार राति ८ बजेसम्म संचालन हुने आयोगले जनाएको हो।

चुनावी नतिजाले जापानको आगामी आर्थिक नीति र आप्रवासन सुरक्षाको दिशा तय गर्ने विश्वास गरिएको बीबीसीले जनाएको छ ।