एजेन्सी । अमेरिका र रुसबीच उच्चस्तरीय सैन्य स्तरको वार्ता फेरि शुरू गर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको यसअघिको सन्धिको अवधि समाप्त भएको केही घण्टापछि बिहीबार नै नयाँ वार्ता शुरू गर्ने सहमति भएको समाचारसंस्था एएफपीले जनाएको हो । सम्झौता समाप्त भएपछि बिहीबार रुसले आणविक हतियारको सङ्ख्यामा अब कुनै सीमा नभएको जनाएको थियो । अमेरिकी सेनाको युरोपियन कमान्डले एक विज्ञप्ति जारी गर्दै सैन्यतहको संवाद कायम राख्नु विश्वव्यापी स्थिरता र शान्तिका लागि महत्त्वपूर्ण हुने बताएको छ । केवल शक्तिको माध्यमबाट सबै थोक प्राप्त गर्न सकिन्छ भन्ने नभई नयाँ सहमतिले थप पारदर्शीता र तनावलाई कम गर्ने जारी विज्ञप्तिमा भनिएको छ।
आणविक हतियार सन्धिको अन्त्यले विश्वका शीर्ष आणविक शक्ति राष्ट्रहरूबीच हतियारको नयाँ होडबाजी शुरू हुने र चीनलाई आफ्नो शक्ति विस्तार गर्न प्रोत्साहित गर्ने अभियानकर्ताहरूले चेतावनी समेत दिएका हुन् । यसैबीच, फरक परिस्थितिमा विश्वका जिम्मेवार देशहरूले ‘जिम्मेवारी र संयम’ अपनाउन नेटोले आग्रह समेत गरेको छ ।





प्रतिक्रिया दिनुहोस्