Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


सुदूरपश्चिममा सर्पदंशका कारण १९ सय बढी प्रभावित


143
Shares

काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा सर्पदंशका कारण पछिल्लो ३ वर्षमा १ हजार ९ सय २६ व्यक्ति प्रभावित भएका छन् ।

जसमध्ये १ सय ५४ जनालाई विषालु सर्पले टोकेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएकाे हाे ।साेही निर्देशनालय डोटी दिपायलका किटजन्य रोग अधिकृत हेमराज जोशीले आर्थिक वर्ष २०८२/८३ को हालसम्म ५ सय ८७ जनालाई सर्पदंशबाट प्रभावित भएकाे बताउनुभयाे । तीमध्ये १७ जनालाई विषालु र ५ सय ७० जनालाई विषरहित सर्पले टोकेको उहाँले जानकारी गराउनुभएकाे छ ।

त्यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ८ सय २७ जनालाई सर्पदंश लागेको थियो । जसमध्ये ४६ जनालाई विषालु र सात सय ८१ जनालाई विषरहित सर्पले टोकेको थियो । आर्थिक वर्ष २०८०/८१ मा भने ५ सय १२ जना सर्पदंशका कारण प्रभावित भएका थिए । तीमध्ये ९१ जनालाई विषालु र चार सय ४१ जनालाई विषरहित सर्पले टोकेको थियो । प्रदेशका कैलाली र कञ्चनपुर जिल्ला सर्पदंशको उच्च जोखिममा रहेका छन् । तराई क्षेत्र, घना बस्ती, खेतबारी, खोलानाला तथा झाडी बढी भएका कारण यी जिल्लामा सर्पको आवागमन बढी हुने गरेको अधिकृत जोशीले बताउनुभयाे।

उहाँले सुदूरपश्चिममा सर्पदंशका घटनामा गोमन), करैत लगायतका विषालु सर्पको टोकाइ बढी देखिने गरेको बताउनुभएकाे छ। विशेषगरी रातिको समयमा करैत सर्पले सुतिरहेको अवस्थामा टोक्ने घटना बढी हुने गरेको अधिकृत जोशीले बताउनुभयाे।