Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


इजरायली सेनाकाे आक्रमणमा परी गाजामा २१ जना प्यालेस्टाइनीको ज्यान गयाे


260
Shares

एजेन्सी । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलले इजरायली सेनाले बुधबारदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा भीषण आक्रमण शुरु गरेको बताउनुभएकाे छ।

खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा दुई महिला र एक प्यारामेडिकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हाे । त्यसैगरी गाजा शहरको पूर्वी भेगमा पर्ने जैतुन र तुफाह क्षेत्रको बाहिरी इलाकामा गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित १४ जनाको मृत्यु भएको हाे। सोही आक्रमणमा कैयौं मानिस घाइते भएका छन् ।

जसमध्ये केहीलाई उपचारका लागि अल–शिफा मेडिकल कम्प्लेक्समा लगिएको छ । यसअघि खान युनिसको दक्षिणमा पर्ने किजान रशवान क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित चार जनाको मृत्यु भएको थियो । स्थानीय प्रत्यक्षदर्शी मोहम्मद हमादाले इजरायली सेनाको आकस्मिक आक्रमणको निन्दा गर्दै सात दिनको नवजात शिशुकाे समेत मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् ।

हमासले इजरायली सैन्य कारबाहीलाई युद्धविराम सम्झौता र विद्यमान समझदारीको घोर उल्लंघनको रूपमा व्याख्या गरेको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले सन् २०२५ अक्टोबर १० मा युद्धविराम लागू भए यता इजरायली आक्रमणमा परी ५ सय ५६ प्यालेस्टाइनीको मृत्यु भइसकेको बताएका हुन् । १ हजार ५ सय भन्दा बढी मानिस घाइते भएका छन् ।