Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


अर्थमन्त्री खनालद्वारा कास्कीसहित ४ जिल्लाको निर्वाचन तयारी अवस्थाकाे बारेमा अनुगमन

स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन

117
Shares

काठमाडाैं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुण २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्नुभएकाे छ।

अर्थमन्त्री खनालले पछिल्लो दुई दिनमा तनहुँ, कास्की, पर्वत र म्याग्दी जिल्लाको स्थलगत अनुगमन भ्रमण गर्नुभएको हाे । अर्थमन्त्रीले तीन जिल्लाको एकैदिन स्थलगत अनुगमन गर्नुभएको छ । उहाँ बुधबार कास्की, पर्वत र म्याग्दी जिल्लामा पुगेर प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था र आचारसंहिता पालनाको अवस्थाबारे छलफल गर्नुभयो । साथै जिल्ला निर्वाचन कार्यालयहरूको पनि अवलोकन गर्नुभएकाे छ ।

अर्थमन्त्री खनाललाई कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र ५६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत हिमलाल वेल्वासे, क्षेत्रीय निर्वाचन अधिकृत निर्मला खड्का र सीता रेग्मी तथा प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले तयारीबारे ब्रिफिङ गर्नुभएकाे छ ।

त्यस्तै, सोही दिन पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र ३५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको बताउनुभयो । मुख्य निर्वाचन अधिकृत बासुदेव पौडेल र जिल्ला निर्वाचन अधिकारी बुद्धिराम उपाध्यायले जानकारी गराउनुभएकाे छ । म्याग्दी जिल्लामा अनुगमनमा पुगेका मन्त्री खनाललाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र १५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र जिल्ला निर्वाचन अधिकारी बिमल प्रसाद गौतमले तयारीको अवस्थाबारे ब्रिफिङ गर्नुभयो । अनुगमनपछि अर्थमन्त्री खनालले चार वटै जिल्लामा निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको बताउनुभएकाे छ । उहाँले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको जोड दिँदै सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो । यसअघि मंगलबार अर्थमन्त्री खनालले तनहुँ जिल्लाको अनुगमन गर्नुभएको थियो।

जसमा प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले तनहुँमा निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी कुनै पनि उजुरी नपरेको र जिल्लाका ८ वटा मतदान केन्द्रलाई अति संवेदनशीलको रूपमा वर्गीकरण गरिएको जानकारी दिनुभयो । अर्थमन्त्रीले जिल्ला निर्वाचन कार्यालयको अवलोकन गर्नुभयो । मुख्य निर्वाचन अधिकृत विष्णु उपाध्याय, निर्वाचन क्षेत्र -२ का निर्वाचन अधिकृत भेषराज पौडेल तथा जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख विकास लम्सालले हालसम्मको तयारीकाे बारेमा विस्तृत ब्रिफिङ गर्नुभयो ।