Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जापानी व्यापारिक समुदायलाई नेपालमा निर्धक्कसँग लगानी गर्न राष्ट्रपति पौडेलकाे आह्वान

नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्ने याेजनामा

195
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गर्नुभएकाे छ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापानको टोकियोमा साेमबार आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सोही आह्वान गर्नुभएकाे हाे । उहाँले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हर सम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गर्नुभएकाे हाे । उहाँले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहेकाे समेत बताउनुभयाे।

उहाँले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबीच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताउनुभएकाे छ। राष्ट्रपति पौडेलले गौतम बुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्नुभयाे ।

नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै उहाँले कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गर्नुभएकाे छ । राष्ट्रपति पौडेलले नेपाल र जापानबीच सदभाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको समेत बताउनुभयाे ।