काठमाडाैं । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनको लागि पात्र नभई एजेण्डाको आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडाैंमा शुक्रबार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्ने क्रममा उहाँले व्यक्ति भन्दा स्पष्ट र व्यवहारिक एजेण्डा आवश्यक रहेको बताउनुभएको हो । उहाँले हाल मुलुकको राजनीतिक बहस व्यक्ति केन्द्रित भएको उल्लेख गर्दै एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संघीयताको मोडेल त्रुटीपूर्ण रहेको बताउनुभयो । उहाँले संघीयताको मोडलसँगै संविधानमा रहेका त्रुटीहरु समेत सच्याउनुपर्ने उल्लेख गर्नुभएकाे छ । उहाँले संविधान संशोधन आवश्यक रहेकोले यसलाई राजनीतिक सहमतिको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले संवैधानिक प्रक्रियाबाट गरिएको संविधान संशोधनले पनि सबै समस्या हल गर्न नसक्ने बताउनुभएकाे छ।
अध्यक्ष थापाले राष्ट्रिय सहमतिको आधारमा संविधान पुनर्लेखन गर्न सकिने बताउनुभयो । उहाँका अनुसार पुनर्लेखनमार्फत संविधानका राम्रा पक्ष जोगाउँदै कमजोरी हटाउने र आवश्यक विषय थप्न सकिन्छ । उहाँले पाँच वर्षभित्र भ्रष्टाचार निर्मूल पार्ने राष्ट्रिय नीति बनाउनुपर्ने र मुलुकलाई आत्मनिर्भर बनाउन औद्योगिकीकरण अपरिहार्य रहेको बताउनुभयो ।
अध्यक्ष थापाले चुनावी प्रतिवद्धता कार्यान्वयन नगर्ने उम्मेदवार वा दललाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले प्रतिवद्धता पूरा नगरे अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था गरे मात्रै उम्मेदवार वा दलहरु घोषणापत्रप्रति जिम्मेवार हुने उल्लेख गर्नुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्