एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो परमाणु कार्यक्रमको बारेमा तत्काल सम्झौता गर्न कडा चेतावनी दिनुभएको छ ।
खाडी क्षेत्रमा अमेरिकी सैन्य शक्ति तीव्र रूपमा बढाइँदै गएको सन्दर्भमा उहाँले समय सकिँदै गएको भन्दै इरानलाई वार्ताको टेबलमा आउन आग्रह गर्नुभएको बीबीसीले जनाएको हो। ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा विशाल अमेरिकी सैन्य शक्ति उत्साह र निश्चित उद्देश्यसहित अघि बढिरहेको दावी गर्नुभएको छ । उहाँले यो नौ सैनिक समूह भेनेजुएलामा पठाइएको सैन्य शक्ति भन्दा पनि ठूलो रहेको चेतावनी दिनुभएको हो ।
इरानका विदेशमन्त्री अब्बास अराघ्चीले इरानको सशस्त्र बल अमेरिकी जवाफका लागि तयार रहेको भन्दै स्थल वा समुद्रबाट हुने कुनै पनि आक्रमणको “तत्काल र शक्तिशाली जवाफ” दिन तयार रहेको चेतावनी दिनुभएको छ । इरानले आफ्नो परमाणु कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको दोहोर्रयाउँदै आएको हो । परमाणु हतियार बनाउने अमेरिकी आरोप अस्वीकार गर्दै आएको छ ।
हालै अमेरिकी सेनाले जोर्डन, कतार, बहराइन, हिन्द महासागर क्षेत्रमा लडाकु विमान, ड्रोन, जासुसी विमान, इन्धन भर्ने जहाज र युद्धपोतहरू तैनाथ गरेको हो । जोर्डनको मुवाफाक सल्ती एयर बेसमा मात्रै कम्तीमा १५ लडाकु विमान पुगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
यसैबीच, इरानले पनि आफ्नो तट नजिकै आईआरआईएस ड्रोन क्यारियर जहाज तैनाथ गरेको उपग्रह तस्बिरहरू सार्वजनिक भएका हुन् । सन् २०१५ को परमाणु सम्झौता अनुसार इरानलाई युरेनियम ३ दशमलव ६७ प्रतिशतभन्दा बढी बनाउन प्रतिबन्ध भएपनि ट्रम्पले सन् २०१८ मा सम्झौताबाट अमेरिका बाहिरिएपछि इरानले ती प्रतिबन्धहरू उल्लङ्घन गर्दै आएको छ ।





प्रतिक्रिया दिनुहोस्