काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रमा अधिक तरलताको समस्या बढ्दै गएको बताएको छ ।
राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलका अनुसार बैंकिङ प्रणालीमा लगानी गर्न सकिने करिब ९ खर्ब रुपैयाँ थुप्रिएको हो। उहाँले ब्याजदर न्यून भए पनि कर्जाको मागमा अपेक्षित सुधार नआएकाले यो चुनौती सिर्जना भएको बताउनुभयो। बढ्दो जोखिमका कारण बैंकहरूले लगानीमा कडाइ गर्दा र बजारमा कर्जाको माग नभएकाले निक्षेप थुप्रिएको हो । पछिल्लो समयमा रेमिट्यान्स प्रवाहमा सुधार आएकाले पनि निक्षेप थपिने क्रम जारी छ । प्रवक्ता पौडेलले केन्द्रीय बैंकले २ दशमलव ६४ प्रतिशत ब्याजदरमै ९ खर्ब रुपैयाँ खिचेको बताउनुभयो ।
राजनीतिक अस्थिरता र लगानीयोग्य वातावरणको अभावका कारण कर्जाको माग बढ्न नसकेको हो । सरकारले नवयुवा आन्दोलनपछि निजी क्षेत्रमैत्री हुने गरी विभिन्न निर्णयसहित कार्यक्रम अघि सारे पनि सुधार देखिएको छैन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका पूर्वप्रमुख डा. रेशम थापाले अधिक तरलताले मुद्रास्फीति बढ्ने र अर्थतन्त्रमा नकारात्मक असर पार्ने बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्