Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


अमेरिकामा आँधीका कारण १३ हजार बढी हवाई उडान रद्द

१२ राज्यमा आपत्कालको घोषणा

819
Shares

एजेन्सी । अमेरिकामा हिउँदे आँधी कारण जनजीवन ठप्प भएको छ ।

आइतबारदेखि शुरू भएको आँधीले हजारौंको संख्यामा उडानहरु रद्द भएका हुन् । सडकहरूमा जमेको बरफले यातायात सेवा रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ । मौसमविद् एलिसन सान्तोरेलीले हिउँ र बरफ पग्लन ढिलो हुने र यसले उद्धार कार्यलाई कठिन बनाउने बताउनुभयो ।

हिउँदे आँधीका कारण १२ वटा राज्यमा आपत्काल घोषणा भएको छ । सङ्घीय आपत्कालीन व्यवस्थापन एजेन्सीले विभिन्न राज्यमा आपत्कालीन सामग्री, कर्मचारी र खोज तथा उद्धार टोलीहरू तयारी अवस्थामा राखेको जनाएको हो। बरफ र हिउँले प्रभावित क्षेत्रहरूमा १ लाख ४० हजार भन्दा बढी घरधुरीमा बिजुली आपूर्ति बन्द भएको छ ।

आइतबार रसोमबार गरि अमेरिकाभरी १३ हजार भन्दा बढी उडान रद्द भएका छन् । डलास–फोर्ट वर्थ अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ७ सय भन्दा बढी उडान रद्द भएका हुन् । न्यासभिल, लुइसियाना, डलास, ह्युस्टन, फीलाडेल्फिया र मेम्फिसमा विद्यालय बन्द गरिएको समाचार संस्था एपीले जनाएको छ ।