Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


समानुपातिकतर्फ १ करोड ५० लाख मतपत्र छपाइकाे काम सकियो: प्रवक्ता भट्टराई

अब ५० लाख मतपत्र छाप्न बाँकी

52
Shares

काठमाडाैं । निर्वाचन आयाेगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएकाे बताएकाे छ ।

आयाेगले शुक्रबार १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने अधिकारको सदुपयोग गर्दै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएकाे जनाएकाे हाे । आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभरी ४९ जनाले उम्मेदवारी फिर्ता लिएकाे बताउनुभयो ।

उहाँका अनुसार मनोनयन पत्र दर्तादेखि दावी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रमहरु देशभरी शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम पनि सँगै अघि बढाएको उहाँले जानकारी दिनुभयो । समानुपातिक उम्मेदवारको विरोधमा ५ गतेदेखि माघ १० गतेसम्म दावी विरोध गर्न सकिने र १० गतेपछि त्यसउपर छानविन गरी माघको २० गते अन्तिम बन्दसूची प्रकाशन हुनेछ बताउनुभएकाे छ।

प्रवक्ता भट्टराईले बन्दसूची पेश भइसकेपछि बन्दसूचीमा नाम पेश गरेका जम्मा ५८ वटा निर्वाचन चिन्हलाई कायम गरेर निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मत पत्र छपाईको काम शुरु गरिसकेको बताउनुभयो । उहाँका अनुसार देशभरको मतदाता संख्या १ करोड ८९ लाख रहेको र त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय भएकाले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाई भइसकेको छ । उहाँले बाँकी ५० लाख मतपत्र दुई दिनभित्र सकिने बताउनुभयो ।

प्रवक्ता भट्टराईले प्रत्यक्षतर्फको निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यसको मतपत्र डिजाइन गरेर मतपत्र छपाईको काम शुरु हुने बताउनुभएकाे छ । समानुपातिकको मतपत्र देशभरको एउटै हुने र प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रगत रुपमा फरक-फरक हुने जानकारी दिनुभयो । यो महिनाभित्रमा मतपत्र छपाईको काम सम्पन्न गर्नेगरी काम गरिरहेको उल्लेख गर्नुभएकाे छ ।

प्रवक्ता भट्टराईले मतदाता नामावलीको काम पनि भइरहेको बताउनुभयो । ४ प्रति मतदाता नामावली छपाई गर्नुपर्नेमा एकप्रति मतदाता नामावली छापेर सबै जिल्लामा पुर्‍याइसकेको बताउनुभएकाे छ।