काठमाडौं । सहकारी विभागले एक भन्दा बढी शाखा कार्यालय खोलेर कारोबार गरिरहेका सहकारी संस्थालाई शाखा बन्द गर्न निर्देशन दिएको छ ।
विभागले राष्ट्रिय सहकारी महासंघ तथा विषयगत केन्द्रीय संघलाई पत्र लेख्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयन गर्न यस्तो निर्देशन दिएको हो । सहकारी विभागका शाखा अधिकृत सरोज भुसालका अनुसार विभिन्न ६ बुँदे निर्देशन जारी गरिएको हो । जसमा मुख्य प्राथमिकताका साथ शाखा बन्द गर्ने विषय उल्लेख छ ।
विभागले जारी गरेको परिपत्रको पहिलो नम्बरमै एक भन्दा बढी शाखा खोलेर सञ्चालनमा रहेका सहकारीलाई हिसाब राफसाफ गरी शाखा बन्द गर्ने–गराउने भनिएको छ । यसका साथै विभागले व्यवस्थाहरू पनि लागू गर्न निर्देशन दिएको हो । नयाँ निर्देशन अनुसार सहकारी संस्थाले कुनै कम्पनी वा संगठित संस्थालाई सदस्य बनाउन नपाउने भएको छ । प्राकृतिक व्यक्ति मात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था कार्यान्वयन गर्न भनिएको छ ।
त्यस्तै, एकै व्यक्तिलाई एउटा वा एक भन्दा बढी तमसुकबाट दिइने कूल ऋण लगानी संस्थाको कूल सेयर पूँजीको १० प्रतिशत भन्दा बढी हुन नदिने व्यवस्था गर्न निर्देशन दिइएको छ । बचत तथा ऋण सहकारी संस्थाहरूले एकै उद्देश्य वा क्षेत्रमा कुल ऋण लगानीको २५ प्रतिशत भन्दा बढी गर्न नपाउने र कर्जा निक्षेप अनुपात अधिकतम ९० प्रतिशतसम्म मात्र हुने गरी लगानी गर्न विभागको निर्देशन छ ।





प्रतिक्रिया दिनुहोस्