खुशीमाया गुरुङ, लमजुङ ।
लमजुङको मर्स्याङदी गाउँपालिका–३ खुदीमा कृषि मेला तथा प्रदर्शनी भएको छ ।
“कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा” भन्ने नारासहित आयोजित मेलामा स्थानीय कृषकहरुले उत्पादन गरेका विभिन्न कृषि तथा पशुपन्छीजन्य सामग्रीको प्रदर्शनी गरिएको थियो ।
कृषकलाई प्रोत्साहन र कृषि पेशालाई व्यावसायिक बनाउने उद्देश्यले मेला आयोजना गरिएको मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमले कृषकको मनोबल बढाउनुका साथै युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सहयोग पुग्नेछ ।

मेलामा खाद्यान्न, तरकारी, फलफूल, आलु, दलहन तथा नगदे बाली, बीउबिजन, नर्सरी बोटविरुवा, मह तथा प्रशोधित उपज र पशुपन्छीजन्य सामग्री गरी ९ विधाका सामग्री प्रदर्शनीमा राखिएका थिए । मूल्याङ्कनका आधारमा उत्कृष्ट ११ जना कृषक छनोट गरिएको कृषि तथा पशुपन्छी विकास शाखाले जनाएको छ ।
उत्कृष्ट कृषकलाई जनही एक हजार पाँच सय रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ भने सहभागी कृषकलाई जनही पाँच सय रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको छ । पुरस्कृत हुने कृषकहरुमा सोमबहादुर तामाङ, सूर्यकला कार्की, विक्रम थापा, उमरबहादुर गुरुङ, चुडामणि भण्डारी, घनपोखरा कृषि सहकारी, पसबहादुर तामाङ, विशाखा गुरुङ, सोनम गुरुङ, दिलबहादुर तामाङ र रवि थापा रहेका छन् ।
मेलामा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पुरस्कार वितरण गर्नुभएको थियो । मेलामा करिब ४० जना कृषकको सहभागिता रहेको थियो । गाँउपालिकाका अनुसार कृषि मेलाले स्थानीय उत्पादनको प्रवद्र्धन, कृषकबीच अनुभव आदानप्रदान तथा आत्मनिर्भर कृषितर्फ उन्मुख गराउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्