काठमाडाैं ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नम्बर ५ मा गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएका संरचनाहरूको निरीक्षण गर्नुभएको छ ।

जेन–जी आन्दोलनपछि पहिलोपटक गृहजिल्ला झापा पुग्नुभएका अध्यक्ष ओलीले दमक र आसपासका क्षेत्रमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका स्थानीय तहका भवन, सार्वजनिक संरचना तथा निजी सम्पत्तिहरूको अवलोकन गर्नुभएको हो ।

निरीक्षणका क्रममा उहाँले क्षति भएको सम्पतीको पुनर्निर्माण र प्रभावितहरूलाई राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने बताउनुभएको छ । गत भदौमा भएको युवा नेतृत्वको जेन–जी आन्दोलनका क्रममा देशव्यापी हिंसा भड्किएको र झापामा पनि दमक नगरपालिका, भ्यू टावरलगायतका स्थानमा आगजनी तथा तोडफोड भएको थियो ।

सो घटनापछि ओलीमाथि काठमाडौं उपत्यका बाहिर यात्रा प्रतिवन्ध लगाइएको थियो । जुन हालै मात्र हटाइएको छ । प्रतिवन्ध फुकुवापछि झापा आएका ओलीले स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्दै आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत थाल्नुभएको छ । झापा–५ बाट नै उम्मेदवारी दिने तयारीमा रहेका ओलीको यो भ्रमणलाई चुनावी सरगर्मीको सङ्केतका रूपमा हेरिएको छ ।

निरीक्षणपछि अध्यक्ष ओलीले शान्ति र विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले हिंसात्मक घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सरकारसँग माग पनि गर्नुभएको छ ।






प्रतिक्रिया दिनुहोस्