Logo ५ माघ २०८२, सोमबार | Mon Jan 19 2026


एमाले अध्यक्ष ओली आज निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न झापा जाँदै


403
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार झापा जानुहुने भएको छ ।

आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि झापा-५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न उहाँ सोमबार बिहान साढे १० बजेको जहाजबाट भद्रपुर विमानस्थलमा अवतरण गर्नुहुने भएको हो । यस पटकको निर्वाचनमा झापा-५ राष्ट्रिय राजनीतिमै सबै भन्दा बढी चर्चाको केन्द्रमा रहेको छ । जहाँ अध्यक्ष ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौंका मेयर बालेन शाहले पनि उम्मेदवारी दिने तयारी गर्नुभएको हो ।

झापा पुगे लगत्तै अध्यक्ष ओलीले जिल्लाका सबै क्षेत्रको निर्वाचन तयारीको बारेमा जानकारी लिने कार्यक्रम रहेको एमालेले जनाएको छ। उहाँले भद्रपुरमै क्षेत्र नम्बर १ र ३ का नेता तथा कार्यकर्तासँग भेटघाट गरी पछिल्लो अवस्थाको बारेमा बुझ्नुहुने भएको हो। त्यसपछि बिर्तामोडमा क्षेत्र नम्बर २ र सुरुङ्गामा क्षेत्र नम्बर ४ को तयारीको बारेमा जानकारी लिने तालिका रहेको छ।

आफ्नै निर्वाचन क्षेत्र झापा-५ को तयारीको बारेमा भने अध्यक्ष ओलीले दमकमा स्थानीय नेताहरूसँग विस्तृत छलफल गर्नुहुने भएको हो।