काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लैजानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
राष्ट्रिय भूकम्प दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी, समुदायस्तरमा पूर्वतयारी, प्रतिकार्य र पुनःनिर्माणको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले खोज तथा उद्धारमा सबै तहका सरकारको क्षमतालाई थप वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएकाे छ। विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापनका लागि तीन तहकै सरकारबीचको शासकीय पद्धतिको सुदृढीकरण र प्रभावकारी समन्वय सरकारको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।
उहाँले यसका लागि सार्वजनिक लगानीका साथै निजी लगानी अभिवृद्धिमा पनि जोड दिनुपर्ने बताउनुभएकाे छ । प्रविधिमा आधारित बहुप्रकोपिय पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनसक्दा पूर्वतयारीमा मद्दत मिल्ने र जनधनको क्षति कम हुने जिकिर गर्नुभयो । गृहमन्त्री अर्यालले व्यवस्थित र दिगो विकासको अवधारणामा आधारित कार्यक्रमको परिणामुखी कार्यान्वयन आजको आवश्यकता भएको बताउनुभएकाे छ।
गृहमन्त्री अर्यालले पूर्वतयारी तथा बलियो संरचना निर्माणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । भूकम्प प्रतिरोधी संरचना निर्माणलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँकाे जोड छ ।





प्रतिक्रिया दिनुहोस्