एजेन्सी । इजराइल र अरब राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न अनुरोध गरेका छन्।
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमा हमला गर्ने निर्णय नगर्न अनुरोध गरेको अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले जनाएको हो। त्यस्तो कदमले मध्यपूर्वमा क्षेत्रीय अस्थिरता थप बढ्न सक्ने चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री नेतन्याहुले सैन्य हमलाको योजना स्थगित गर्न ट्रम्पलाई अनुरोध गर्नुभएको छ ।
ट्रम्पले इरानमा प्रदर्शनकारीहरू मारिने क्रम नरोकिए त्यहाँको नेतृत्वमाथि सैन्य हमला गर्ने चेतावनी दिँदै आउनुएको हो।ट्रम्पले भित्रभित्रै इरानमा हमला गर्ने विकल्पेको बारेमा आफ्ना वरिष्ठ सुरक्षा सल्लाहकार र सैन्य अधिकारीहरूसँग छलफल गरिरहेको भनेर विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले यसअघि नै सार्वजनिक गरेका थिए। इरानमा हमला गर्ने पूर्वतयारी स्वरूप ट्रम्पले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूबाट कर्मचारी फिर्ता बोलाउनुभएको थियो ।
कतार, साउदी अरब, ओमान र इजिप्ट लगायत अमेरिकाका प्रमुख साझेदार राष्ट्रहरूले पनि ट्रम्पलाई इरानमाथि आक्रमण गर्ने योजनाबाट पछि हट्न अनुरोध गरेका छन् । ती देशहरूले पनि यस्तो कदमले क्षेत्रीय स्तरमा ठूलो युद्ध भड्किन सक्ने चेतावनी दिएको भनेर न्यूयोर्क टाइम्सले लेखेको छ। सोही राष्ट्रहरूले एकैसाथ वाशिङ्टन र तेहरान दुवैसँग संवाद गर्दै संयम अपनाउन दबाब दिइरहेको बताइएको छ।
ट्रम्पले अत्यन्तै महत्वपूर्ण स्रोतहरू”बाट इरानले प्रदर्शनकारी हत्या रोकेको र फाँसीको प्रक्रिया अघि नबढाएको सूचना पाएको बताउनुभएको छ । यसले इरानमाथि तत्काल सैन्य कारबाहीबाट ट्रम्प पछि हट्न सक्ने संकेत दिएको ठानिएको हो।
तर अमेरिकी अधिकारीहरूले भने राष्ट्रपति ट्रम्पले हालै प्रस्तुत गरिएका सबै सैन्य विकल्पहरू पूर्ण रूपमा त्यागी नसकेको बताएका छन् । अन्तिम निर्णय इरानी सुरक्षा निकायहरूको आगामी कदममा निर्भर रहने भएको छ।





प्रतिक्रिया दिनुहोस्