काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टी सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महाराजगञ्ज पुगेका छन् ।
व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय थापा र शर्मा देउवालाई भेट्न बुधबार महाराजगञ्जमा पुगेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले बताउनुभएको हो । टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास महाराजगञ्ज् पुगेका छन् । सोही वार्तामा पनि कुरा नमिलेमा दुवै समूह आ-आफ्नो बाटो लाग्ने नेताहरू बताउँछन्।
दुई समूहबीच सभापति देउवाले सक्रिय राजनीतिबाट सन्यास लिने र आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई दिने टिकटमा हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने विषयमा कुरा मिलेको छैन। यहि विषयलाई कसरी टुङ्ग्याउने भनेर शीर्ष तहमै अन्तिम छलफल हुन लागेको हो ।
तथापि दुवै पक्ष आ-आफ्नो अडानमा रहेकाले सहमति हुने सम्भावना न्यून रहेको नेताहरूले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्