Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


राज्य एकीकरणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्णः राष्ट्रपति पौडेल


143
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्य एकीकरणमा पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देशमार्फत यस्तो बताउनुभउको हो । पृथ्वीनारायण शाहले ससाना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको उहाँको भनाइ छ । पृथ्वीनारायण शाहलाई सम्झँदा शाहले नेपालको एकीकरण गर्दै राष्ट्रिय स्वाधीनता र आधुनिक नेपालको साझा पहिचानलाई स्थापित गर्नुभएको देखएको उहाँले बताउनुभयो। शाहको दिव्योपदेश अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको उहाँले बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले मुलुकको सवल अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माण, धर्म, संस्कृति र परम्पराको संरक्षण, जनकल्याण, राज्यको जिम्मेवारी, न्याय र सुशासन तथा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि शाहका दिव्योपदेश मार्गदर्शन लिन सकिने समेत बताउनुभयो । राष्ट्र निर्माणको अभियानलाई इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले अहिले सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएको समेत उहाँले उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले यहि आधारभूमिमा टेकेर नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी र लोकतन्त्रमा आधारित समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा संवैधानिक व्यवस्था गरेको स्पष्ट पार्नुभयो । उहाँले ‘राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राखेर जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि दिनुभएको छ।

राष्ट्रपति पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०४औंं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन समेत अर्पण गर्नुभयो।