इलाम, असोज ८ । नेपाल प्रेस युनियन इलामले तीनजना सन्चारकर्मी र एक सन्चारउद्यमीलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा इमेजकर्मी एवं युनियनका केन्द्रीय सदस्य युवराज गौतम, सोम सुसेली, विजयशेर भट्टराई र सन्चारउद्यमी डम्बर खड्का रहेका छन् ।
उनीहरुलाई नेपाल प्रेस युनियन इलामको आठौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा सोमबार पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले दोसल्ला र सम्मानपत्रले सम्मान गरे ।
गौतम इमेजखबर डटकम, सुसेली रेडियो नेपालवाणी एफएम र भट्टराई नेपाल टेलिभिजनमा आवद्ध सन्चारकर्मी हुन् । खड्का भने इलामबाट प्रसारित चियाबारी एफएमका सन्चालक हुन् ।
कार्यक्रममा नेता श्रेष्ठले राज्यले प्रेस जगतलाई अंकुश लगाउन खोजिरहेको भन्दै त्यसकाविरुद्ध डटेर सामना गर्न सन्चारकर्मीहरुलाई आग्रह गरे ।
उनले लोकतन्त्र र प्रेस जगत परिपूरक रहेको बताउँदै प्रेस जगतको सम्मान भएमात्र लोकतन्त्रको रक्षा हुने धारणा राखे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले केन्द्रीय सरकार संघीयतालाई असफल बनाउन लागिपरेको आरोप लगाए ।
अनावश्यक करवृद्धि गरी जनतालाई संघीयताप्रति वितृष्णा जगाउँदै दुईतिहाइको सरकारले संघीयता तुहाउन लागेको आरोप उनले लगाए । त्यसकाविरुद्ध पत्रकारहरु एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्