Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पकाे निर्णय

याेसँगै संस्थाले लिंदै आएको अमेरिकी रकम र सहयोग समेत रोकिने

5.1k
Shares

एजेन्सी। अमेरिकाले ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिने निर्णय गरेकाे छ ।

साेही निर्णयसँगै साेही संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग समेत रोकिने भएकाे हाे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरूबाट बाहिरिने निर्णयमा हस्ताक्षर गरेकाे रोयटर्सले जनाएको छ । ती निकायहरू अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन हुने भएका कारण यस्तो कदम चालिएको ह्वाइट हाउसले जारी गरेकाे वक्तव्यमा भनिएकाे छ।

ह्वाइट हाउसले कुन-कुन संगठन हुन् भन्ने सूची भने सार्वजनिक गरेको छैन । तर गैरसंयुक्त राष्ट्रसंघीय संस्थाहरूमा भारत र फ्रान्स नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आईयूसीएन) र जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी प्यानल जस्ता प्रमुख वातावरणीय संस्थाहरू समेत समावेश रहेको जनाइएकाे छ। त्यसैगरी आर्थिक तथा सामाजिक मामिला विभाग, अन्तर्राष्ट्रिय कानून आयोग, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, शान्ति निर्माण आयोग, संयुक्त राष्ट्र ऊर्जा तथा संयुक्त राष्ट्र जनसंख्या कोषबाट समेत अमेरिका बाहिरिएको हाे ।

ती संस्था तथा निकायहरूले उग्र जलवायु नीति, वैश्विक शासन प्रणाली र अमेरिकी सार्वभौमिकता तथा आर्थिक शक्तिसँग असंगत वैचारिक कार्यक्रमहरू’ अघि बढाउने गरेको आरोप अमेरिकाले लगाएको छ। ह्वाइट हाउसले साेही निर्णय अमेरिकाले सदस्यता लिएको वा पक्ष रहेको सबै अन्तर्राष्ट्रिय अन्तर–सरकारी संगठनहरू, सम्मेलनहरू र सन्धिहरूको समीक्षापछि लिइएको हो।