Logo २२ पुस २०८२, मंगलबार | Tue Jan 6 2026


सर्लाहीमा वन संरक्षक महतोको विभत्स हत्या

शंकास्पद एक व्यक्ति पक्राउ

793
Shares

काठमाडाैं । सर्लाहीमा वन संरक्षक ४७ वर्षीय रामेश्वर महतोको विभत्स हत्या भएको छ।

ईश्वरपुर नगरपालिका-२, राइटरखोरमा वन संरक्षक महतोको विभत्स हत्या भएको हो। महतो परियोजनामा ज्यालादारीमा चौकीदार (वन हेरालु) को रूपमा कार्यरत थिए। घरनजिकै परियोजनाको जंगलमा टाउको नभएको अवस्थामा महतोकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शनिबार बिहान ५ बजेतिर घरबाट निस्केका महतो शनिबार दिउँसोसम्म परिवार एवं परियोजनाका सहकर्मीसँग सम्पर्कमा नआएको र फोनसमेत स्विच–अफ रहेकाले उनको खोजी शुरू गरिएको थियो।सुरक्षाकर्मी समेतको सहयोगमा खोजी गर्ने क्रममा जंगलभित्र उनको शव फेला परेको हो।

जंगलभित्र बन्चरोले घाँटी छिनाली विभत्स हत्या गरी झाडीमा फालिएको अवस्थामा महतो शव फेला परेको प्रहरीले बताएकाे छ। प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको समेत छ। बाँकी अभियुक्तलाई पनि पक्राउ गरेर कानूनी कारबाही गर्ने प्रहरीले बताएकाे हाे ।