काठमाडाैं। नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन पक्षधरहरुले यहि पुस २८ भित्रै विशेष महाधिवेशन गर्न दबाब बढाउँदै लगेका छन् ।
विशेष महाधिवेशन पक्षहरुले शुक्रबार पत्रकार सम्मेलन गरी पार्टी विधानले तोकेअनुसार विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका हुन् । उनीहरुले विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको दावी गरेका छन् । नियमित महाधिवेशन गर्न नसकिएको अवस्थामा ४० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर माग गरेको विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको उनीहरुको भनाइ छ ।
विशेष महाधिवेशन पक्षधरका नेता सुवास पोखरेलले गत असोज २९ गते दर्ता भएको विशेष महाधिवेशनको माग अझै जीवित रहेको र यसको कार्यान्वयन पार्टीको अनिवार्य कर्तव्य भएको बताउनुभयो । कांग्रेससँग विशेष महाधिवेशन बाहेक अन्य कुनै विकल्प नभएको उहाँले बताउनुभएकाे छ। लोकतान्त्रिक पार्टी भएर पनि विधानको बाध्यकारी व्यवस्था नमान्ने हो भने संविधान र विधिको वकालत गर्दै नागरिकसमक्ष जान नैतिक अधिकार कांग्रेससंग नहुने उहाँले बताउनुभयो ।
विशेष महाधिवेशनले पार्टीमा फुट नभई एकता कायम गर्ने विशेष महाधिवेशन पक्षधरहरुको दावी छ । उनीहरुले पार्टी विभाजन गर्ने पक्षमा आफूहरु नरहेको पनि बताएका हुन् ।





प्रतिक्रिया दिनुहोस्