Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


आगामी निर्वाचन सुरक्षा चुनौती उच्च (भिडियाे रिपाेर्ट)

निर्वाचनमा ३६ सय मतदानस्थल अतिसंवेदनशील !

0
Shares

काठमाडाैं। सरकारले आगामी फागुन २१ गते निर्वाचन गराउनका लागि सबै राजनीतिक दलहरुसँग निरन्तर संवाद गरिरहेको छ ।

त्यसो त समानुपातिकको बन्द सूची बुझाएर दलहरु र निर्वाचन आयोग पनि चुनावका लागि तयार देखिएका हुन् । तर अझै पनि सुरक्षा मामीला भने शंकाको घेरा बाहिर जान सकेको छैन । सुरक्षा निकायले मतदानस्थलको सूचीकरण गरे पनि अत्यावश्यक स्रोत पाउन नसक्दा दुई महिनामा सुरक्षित निर्वाचन गराउन कति सहज छ भन्ने प्रश्न कायमै देखिएको छ ।

गत साता अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा प्रहरी र सुरक्षा निकायले चलाएको संयुक्त अप्रेशनमा ठूलो मात्रामा हतियार बरामद भयो । बझाङका जनक सिं भन्ने जनक थापाको नाममा दर्ता भएको १ सय रोपनीमा फैलिएको कृषि फार्ममा भरुवा बन्दुकदेखि ग्रिनेट, डेटोनेटर र प्रेरसरकुकर बम लगायतका विष्फोटक पदार्थ समेत भेटिए । उक्त हतियार नेत्रक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले संचालन गर्दै आएको फर्ममा भेटिएको हो । यसले सुरक्षा निकायलाई झस्काएको छ ।

विषेश गरेर सरकारले निर्वाचन तयारी तिव्र बनाए पनि सुरक्षाकै कारण दलहरुले प्रश्न गरिरहेका छन् भने गत भदौ २४ गते प्रहरीबाट लुटिएको हतियार पनि सबै बरामद हुन सकिरहेको छैन । प्रहरी आफैंले भदौ २४ गते कति हतियार लुटियो र कति जले भन्ने एकिन गर्न सकिरहेको छैन । यो बीचमा निर्वाचन सुरक्षाका लागि प्रहरीले माग गर्दै आएको स्रोत-साधन पनि सरकारले उपलब्ध गराउन सकिरहेको छैन । नेपाल प्रहरी निर्वाचनका लागि आवश्यक पर्ने छोटो हतियार अर्थात पेस्तोल र सर्टगन लगायतका हतियार खरिद गर्नुपर्ने छ । त्यस्तै, भीड नियन्त्रणका लागि आवश्यक पर्ने गियर र ढाल तथा लाठी समेत पर्याप्त नभएकाले खरिदका लागि बजेट माग गरिरहेको छ ।

२०७९ सालको निर्वाचनमा नेपाली सेनासँग पेस्तोल सापटी लिएको प्रहरीले यस वर्ष पनि सेनाकै सहयोग लिने तयारी गरेको छ । अन्य अत्यावश्यक सामान खरिदमा समय अपुग हुने चिन्ता प्रहरीलाई छ । २४ गते २८ करोड भन्दाको संचार उपकरण सहितका साधन जलेको थियो । अहिले संचार साधान, गस्तिका लागि करिब १ हजार २ सय गाडी , भिड नियन्त्रणको साधन , प्रहरीका लागि हेल्मेट , अश्रुग्याँस सेल र रबर बुलेट लगायतका साधन तत्काल उपलब्ध गराउन नसके सुरक्षित निर्वाचन हुनेमा सुरक्षा निकायनै विश्वस्त छैनन् ।

त्यस्तै, अघिल्लो निर्वानमा भन्दा अति संवेदनशील मतदानस्थल बढी देखिएको छ । निर्वाचन आयोगले तयार पारेको विवरण अनुसार यस पटक १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता र भने १० हजार ९ सय ६७ मतदानस्थलहरु छन्। त्यस मध्य ४ हजार ४ सय ४२ मतदानस्थल संवेदनशील र ३ हजार ६ सय ८० अतिसंवेदनशील मानिएको छ । जुन अघिल्लो निर्वाचनहरुमा भन्दा बढी हो । मधेश प्रदेशमा सबै भन्दा चिन्ता देखिएको छ । सुरक्षा निकायको अध्ययन अनुसार मधेश प्रदेशमा मात्रै १ हजार २ सय ४६ मतदानस्थल अतिसंवेदनशील छन् ।

सुदूरपश्चिको ४ सय ८१ स्थान , लुम्बिनीमा ४ सय ६२ , कोशी प्रदेशको ४ सय ३९ मतदानस्थल सुरक्षा दृष्टिले निकै संवेदनशिल मानिएको छ । यस पटक नयाँ र पुराना राजनीतिक दलहरुवीचको विवादले जटिलता निम्तयाउन सक्ने विश्लेषण गरिएको छ । केही हतियार निर्वाचन सहभागी हुन सक्ने दलका नेताहरुकै हातमा हुनसक्ने आशंका सुरक्षा निकायको छ । यस पटक निर्वाचनका लागि १ लाख ३३ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरीको माग छ । उनीहरुको निस्पक्षताले पनि समस्या निमत्याउन सक्ने भएकाले सुरक्षा निकायलाई प्रयाप्त स्रोतसाधन विना सुरक्षित निर्वाचन निकै कठिन हुन सक्ने देखिएको छ ।

राजनीतिक र निर्वाचन आयोगको तयारी राम्रो भए पनि मतदाताको सुरक्षा नै पहिलो सर्त बनेको छ।

भिडियाे रिपाेर्ट: