Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा पार्टीको नियमित महाधिवेशन स्थगित (विज्ञप्तिसहित)

विकल्पका रूपमा विशेष महाधिवेशन मात्रै भएकाे तर्क

1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले बिहीबार साँझ संयुक्त एक विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगितकाे जानकारी दिएका हुन्। विकल्पका रूपमा विशेष महाधिवेशन मात्रै भएको समेत उनीहरुले बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमितिको गत मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचना मार्फत नियमित महाधिवेशन स्थगित गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको जारी विज्ञप्तिमा भनिएकाे छ।

पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएकाे र उक्त जिम्मेवारी अन्तर्गतका कार्यहरू संभव भएसम्म सर्वसम्मतिले अगाडि बढाइने विज्ञप्तिमा भनिएकाे छ । जारी विज्ञप्ति अनुसार महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा ५ लाख ७९ हजार ३ सय ९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको हाे।

बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लामा जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुंगिएपछि कूल नवीकरण संख्या करिब ६ लाख भन्दा बढी पुग्ने अनुमान गरिएकाे छ।