Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन


156
Shares

काठमाडौं । आसन्न प्रतिनिधिसभाको चुनाव नजिकिंदै गर्दा राजनीतिक दलहरु चुनाव केन्द्रित हुन थालेका छन् ।

आज समानुपातिक प्रणालीतर्फको उम्मेदवारको बन्द सूची पेश गर्ने अन्तिम दिन भएकाले मुख्य दलहरु आफ्ना तर्फबाट नामावली टुंग्याउने अन्तिम तयारीमा रहेका हुन् ।

आजसम्म बुझाइएका बन्द सूचीको भोलिदेखि २० गतेसम्म आयोगले छानवीन गर्नेछ । त्यसमा देखिएका कमजोरी सच्याउन पुस २१ देखि २७ गतेसम्म दलहरुलाई आयोगले समय दिनेछ । सच्याइएका बन्द सूची पुस २८ देखि माघ ३ गतेसम्म पुनः परीक्षण गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ४ गते बन्द सूची सार्वजनिक गर्ने तयारी गरेको छ भने माघ २० गते अन्तिम सूची प्रकाशन गर्नेछ । अहिलेसम्म हिजो तीन वटा साना दलका एक सय ३४ जनाले बन्द सूची पेश गरिसकेको पनि आयोगले जनाएको छ । हिजो नेपाल मजदुर किसान पार्टी, जनप्रिय लोकतान्त्रिक पार्टी, श्रम संस्कृति पार्टीले बन्द सूची पेश गरेका आयोगले जनाएको छ ।

मुख्य राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, राप्रपा लगायतका दलहरुले आज बन्द सूची बुझाउँने तयारी गरेका छन् । कांग्रेसले आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट समानुपातिक तर्फको बन्दसूचीमा समावेश हुने उम्मेदवारको नामावली टुङ्ग्याउने तयारीमा छ ।

त्यस्तै नेकपा एमालेको हिजो बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक तर्फका उम्मेदवारको नाम टुङ्ग्याउने जिम्मेवारी दिएको छ ।