Logo १३ पुस २०८२, आइतबार | Sun Dec 28 2025


युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच २० बुँदे शान्ति सम्झौताको मस्यौदा प्रस्ताव हुने अपेक्षा (२० बुँदा-सहित)


793
Shares

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उहाँका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच आइतबार फ्लोरिडामा हुने वार्ताको केन्द्रबिन्दुमा २० बुँदे शान्ति सम्झौताको मस्यौदा प्रस्ताव हुने अपेक्षा गरिएको छ।

राष्ट्रपति जेलेन्स्कीले यो योजना रुससँगको युद्ध अन्त्य गर्न भविष्यमा हुने सम्झौताको आधार बन्न सक्ने बताउनुभएकाे हाे। रूसका अधिकांश मुख्य मागलाई समर्थन गरेको भनिएको पहिलेको २८-बुँदे मस्यौदालाई परिमार्जन गर्न हप्तौं वार्ता गरिएको थियो। युक्रेन र संयुक्त राज्य अमेरिका अझै पनि दुई मुख्य बुँदाहरूमा सहमतिमा पुग्न नसकेको रोयटर्सले जनाएकाे हाे। सीमा विवाद नियन्त्रण र जापोरिजिया आणविक ऊर्जा केन्द्रको विषयमा सम्झौता निजक पुग्न नसकिएको बताइएको छ ।

तर राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी ट्रम्पसँग दुवै विषयमा छलफल गर्ने आशा व्यक्त गर्नुभयाे।

राष्ट्रपति जेलेन्स्कीले प्रस्तुत गरेको र उहाँको कार्यालयले सार्वजनिक गरेको मस्यौदा प्रस्तावका २० बुँदालाई तल उल्लेख गरिएकाे छ:

१. युक्रेनको सार्वभौमिकतालाई पुन: पुष्टि गरिनेछ ।

२. यो बुँदाले रूस र युक्रेनबीच पूर्ण र निर्विवाद गैर-आक्रमण सम्झौताको परिकल्पना गर्नेछ । यसले निर्दिष्ट गर्दछ कि दीर्घकालीन शान्ति कायम राख्न, अन्तरिक्ष-आधारित मानवरहित अनुगमन मार्फत सम्पर्क रेखाको निरीक्षण गर्न, उल्लङ्घनको प्रारम्भिक सूचना सुनिश्चित गर्न र द्वन्द्वहरू समाधान गर्न एक अनुगमन संयन्त्र स्थापना गरिनेछ ।

३. युक्रेनले बलियो सुरक्षा ग्यारेन्टी प्राप्त गर्नेछ ।

४. युक्रेनले आफ्नो सशस्त्र बललाई ८ लाख कर्मचारीको वर्तमान सङ्‍ख्यामा कायम राख्नेछ । (पहिलेको अमेरिकी मस्यौदामा युक्रेनलाई आफ्नो सेनाको आकार घटाउन आह्वान गरिएको थियो ।)

५. संयुक्त राज्य अमेरिका, नेटो र युरोपेली देशहरूले युक्रेनलाई सुरक्षा ग्यारेन्टीहरू प्रदान गर्नेछन् जसले नेटोको संस्थापक सन्धिको धारा ५, पारस्परिक-रक्षा खण्डलाई प्रतिबिम्बित गर्दछ ।

६. रूसले युरोप र युक्रेन विरुद्ध गैर-आक्रामक नीतिलाई औपचारिक रूपमा लागू गर्नेछ । यो नीति अनुमोदन सम्बन्धी सबै आवश्यक कानूनहरू र कागजातहरूमा लागू गरिनेछ, जसमा राज्य डुमामा अत्यधिक बहुमतले अनुमोदन गरिने छ ।

७. युक्रेन विशेष रूपमा परिभाषित मितिमा ईयू सदस्य बन्नेछ । युक्रेनले युरोपेली बजारमा छोटो अवधिको प्राथमिकता पहुँच पनि प्राप्त गर्नेछ ।

८. युक्रेनले एक बलियो विश्वव्यापी विकास प्याकेज प्राप्त गर्नेछ, जुन लगानी र भविष्यको समृद्धि सम्बन्धी छुट्टै सम्झौतामा परिभाषित गरिनेछ ।

९. आर्थिक पुनरुत्थान, क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माण र मानवीय मुद्दाहरूलाई सम्बोधन गर्न धेरै कोषहरू स्थापना गरिनेछ । ( यसको उद्देश्य युक्रेनलाई यसको क्षमता पूर्ण रूपमा साकार पार्न ८ सय अर्ब डलर परिचालन गर्नुपर्नेछ ।)

१०. युक्रेनले संयुक्त राज्य अमेरिकासँग स्वतन्त्र व्यापार सम्झौता गर्ने प्रक्रियालाई तीव्रता दिनेछ । (जेलेन्स्कीले यदि वाशिंगटनले युक्रेनलाई स्वतन्त्र व्यापार पहुँच प्रदान गर्छ भने, यसको उद्देश्य रूसलाई पनि यस्तै सर्तहरू प्रदान गर्नु पर्ने बताएका छन्।)

११. आणविक हतियारको अप्रसार सन्धि अनुसार युक्रेनले आणविक अस्त्ररहित राष्ट्र रहने कुरा पुष्टि गर्नेछ ।

१२. जापोरिजिया आणविक ऊर्जा केन्द्र । (जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रको मुद्दामा संयुक्त राज्य अमेरिकासँग अहिलेसम्म कुनै सम्झौता नभएको बताएका छन् । जुन अहिले रूसी सेनाको नियन्त्रणमा रहेको क्षेत्रमा अग्रपंक्तिमा छ । अमेरिकी प्रस्तावमा प्लान्ट युक्रेन, संयुक्त राज्य अमेरिका र रूसले संयुक्त रूपमा सञ्चालन गर्ने रहेको जेलेन्स्कीको भनाइ थियो । प्रत्येकको संयुक्त उद्यममा समान हिस्सेदारी छ । जसमा अमेरिकीहरूले प्रमुख प्रबन्धकको रूपमा काम गर्नेछन् । कीभको प्रस्तावमा प्लान्ट संयुक्त राज्य अमेरिका र युक्रेन मात्र समावेश गर्ने ५०-५० संयुक्त उद्यमद्वारा सञ्चालन गर्ने थियो, जसमा युक्रेनले उत्पादन हुने आधा ऊर्जा प्राप्त गर्नेछ र बाँकी आधा संयुक्त राज्य अमेरिकाले स्वतन्त्र रूपमा बाँडफाँड गर्नेछ ।

१३. युक्रेन र रुसले विद्यालय र समाजभरी विभिन्न संस्कृतिहरूप्रति समझदारी र सहिष्णुतालाई प्रवर्धन गर्ने र जातिवाद र पूर्वाग्रह हटाउने शैक्षिक कार्यक्रमहरू लागू गर्न प्रतिबद्ध छन् । युक्रेनले धार्मिक सहिष्णुता र अल्पसङ्‍ख्यक भाषाहरूको संरक्षणमा युरोपेली संघका नियमहरू लागू गर्नेछ ।

१४. क्षेत्र : (जेलेन्स्कीले यो सबैभन्दा जटिल बिन्दु रहेको बताएका छन् । यसमा अझै समाधान भएको छैन । रूसले युक्रेनलाई पूर्वी डोनेट्स्क क्षेत्रमा युक्रेनले नियन्त्रण गरेको क्षेत्रबाट सेना फिर्ता बोलाउन चाहन्छ । कीभले हालको युद्ध रेखामा लडाइँ रोक्न चाहन्छ । वाशिंगटनले कीभले नियन्त्रण गरेको डोनेट्स्क क्षेत्रको भागमा निशस्त्रीकृत क्षेत्र र स्वतन्त्र आर्थिक क्षेत्र प्रस्ताव गरेको छ ।)

१५. भविष्यमा क्षेत्रीय व्यवस्थाको कुरा उठ्दा रूस र युक्रेन दुवैले बल प्रयोग गरेर यी सम्झौताहरू परिवर्तन नगर्ने प्रतिबद्धता जनाउँछन् ।

१६. रूसले युक्रेनलाई व्यावसायिक उद्देश्यका लागि डिनिप्रो नदी र कालो सागर प्रयोग गर्नबाट बाधा पुर्‍याउने छैन । नेभिगेसन र यातायातको स्वतन्त्रतालाई समेट्ने छुट्टै समुद्री सम्झौता र पहुँच सम्झौता गरिनेछ । डिनिप्रोको समुद्रमा जाने बाटोको किनारमा रहेको किनबर्न स्पिटलाई निशस्त्रीकरण गरिनेछ ।

१७. बाँकी रहेका मुद्दाहरू समाधान गर्न एक मानवीय समिति स्थापना गरिनेछ ।

क. बाँकी रहेका सबै युद्धबन्दीहरूलाई सबैका लागि सबैको सिद्धान्तमा आदानप्रदान गरिनेछ ।

ख. बालबालिकासहित सबै नागरिक बन्दी र बन्धकहरूलाई फिर्ता गरिनेछ ।

ग. द्वन्द्वबाट पीडितहरूको पीडालाई सम्बोधन गर्न व्यवस्था गरिनेछ ।

१८. सम्झौतामा हस्ताक्षर भएपछि युक्रेनले सकेसम्म चाँडो चुनाव गराउनुपर्छ ।

१९. यो सम्झौता कानुनी रूपमा बाध्यकारी हुनेछ । यसको कार्यान्वयनको अनुगमन र ग्यारेन्टी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा रहेको शान्ति परिषद्ले गर्नेछ । युक्रेन, युरोप, नेटो, रूस र संयुक्त राज्य अमेरिका यस संयन्त्रको हिस्सा हुनेछन् । उल्लंघनको अवस्थामा प्रतिबन्धहरू लागू हुनेछन् ।

२०. सबै पक्षहरू यस सम्झौतामा सहमत भएपछि पूर्ण युद्धविराम तुरुन्तै लागू हुनेछ ।