Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


सरकार र राजनीतिक दलबीचकाे संवादहीनता तोडियाे (भिडियाे रिपाेर्ट)

तर निर्वाचनको अन्याेलता भने कायमै

481
Shares

काठमाडाैं। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभाका तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट गरेपछि त्यसको विभिन्न कोणबाट टिप्पणी भइरहेको छ।

निर्वाचनमा होमिएको सरकार र निर्वाचनमा जान आनाकानी गरिरहेका दलका शीर्ष नेताहरुबीच भेटवार्ताले पानी बाराबारको अवस्थाको त अन्त्य भएको हाे। तर त्यहीं एउटा भेटबाट निर्वाचनकाे बारेमा रहेको संशय टुंगियो भन्ने अवस्था भने छैन ।

मुलुकको राजनीतिक गन्तब्य अझै पनि दिशाहीन अवस्थामा रहेकाे छ। जेनजी आन्दोलनपछि थला परेको राजनीतिले बाटो पहिल्याउन नसक्दा एक पछि अर्को संकटको संशय पनि छाइरहेको हाे। अन्तरिम सरकारले निर्वाचनको रटान लगाइरहेको त छ । तर पुराना दलहरु निर्वाचनमा सामेल हुन भन्दा भाग्न उद्दत देखिएका छन् । उनीहरुले यसमा थुप्रै शंका-उपशंका गरिरहेका छन् ।

यस्ता गतिविधिले मुलुकको राजनीति कता जाने हो भन्ने अन्योल जस्ताको त्यस्तै छ। अन्याेल चिर्ने उदेश्यले जेनजी आन्दोलन भएको १ सय दिनपछि प्रधानमन्त्री कार्कीले आन्दोलनबाट सत्ताच्युत भएका दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभयो । यो छलफलपछि सरकार र दलबीच रहेको संवादहीनता त तोडिएको छ । तर, अझैं निर्वाचन हुनेमा आशंकाहरु भने बाँकी नै रहेकाे नेकपा एमालेका नेता विशाल भट्टराईले बताउनुभयाे।

सरकार घोषित मितिमै निर्वाचन गर्ने तयारीमा अघि बढेको छ। नेपाली कांग्रेस र एमाले निर्वाचनको वातावरण नभएको भन्दै निहुँ खोजिरहेका छन् । उनीहरुले संसद पुनस्थापनामै जोड दिइरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीसँगको छलफलमा पनि दलका नेताहरुले यहि अडान दोहोर्‍याए । अर्कोतर्फ राष्ट्रपति र प्रधानमन्त्रीले निर्वाचनमा जानका लागि संवाद गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयाे।

अर्कोतिर नयाँ राजनीतिक दलहरु भने निर्वाचनका लागि उत्साहित बन्दै गइरहेका छन् । नयाँ दलहरुले सरकारलाई साथ पनि दिइरहेको अवस्था छ। नयाँ दलहरुमा चुनाव लक्षित गठ-जोडको अभ्यास पनि तीव्र बनेको राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले बताउनुभयाे।

सरकारदेखि सबै राजनीतिक दलहरु आफ्नै तयारी र रणनीतिमा छन् । तर सबै दल निर्वाचनलाई सफल बनाउनका लागि सरकारलाई सघाउने गरी एकै ठाउँमा आइहाल्ने वातावरण भने अझै बनेको छैन । संवादहीनता तोडिएकाले अबको प्रयास मुलुकलाई अन्याेलको भूँभरीबाट बाहिर ल्याउन एकजुट हुनेतर्फ केन्द्रित हुनु जरुरी छ।

भिडियाे रिपाेर्ट: