Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


ठमेलको एक क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका नाइकेसहित ६ जना पक्राउ, अनुसन्धान जारी (भिडियाेसहित)


650
Shares

काठमाडौं। ठमेलमा रहेकाे छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै अवैध क्यासिनो खेलाउने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी परिसरको हिरासतमा राखिएको जानकारी दिएको हो । साेही सम्मेलनमा बोल्दै परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे पक्राउ गरिएको बताउनुभयो। उहाँले नेपाली नागरिकलाई समेत अवैध क्यासिनोको आवरणमा ठगी कार्यमा संलग्न थप ७ जनाको पहिचान भइसकेको जानकारी दिँदै खोजी कार्य भइरहेको समेत बताउनुभएकाे छ।

उहाँका अनुसार क्यासिनोमा छापाका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण र लेन्स लगायत सामग्री बरामद प्रहरीले बरामद गरेको छ। अवैध जुवा खेलाउने गिरोहका मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक रहेको समेत प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो। उहाँका अनुसार आचार्य ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रुप’का सञ्चालक समेत रहेको खुलेको छ। उक्त ग्रुपले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियालगायत देशहरूमा क्यासिनो इभेन्टका नाममा अवैध जुवा खेलाउँदै आएको समेत उहाँले जानकारी दिनुभयो।

बीपी एण्ड महाकाय ग्रुप अन्तर्गत क्यासिनो प्लेयर्स गत मंसिर २५ गते मात्र करिब ७० जना नेपाल आएका थिए । सोही ग्रुपद्वारा सञ्चालन गरिएको इभेन्टमा अन्य ग्रुपहरू समेत सामेल हुँदा जम्मा करिब २ सय जना भारतबाट नेपाल आएको खुलेको उहाँले बताउनुभएकाे छ। जुवा खेल्न आउनेहरुका लाग हवाई टिकटदेखि खाना र बसोवासको सम्पूर्ण व्यवस्था मर्जजनले नै मिलाएको देखिएको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो।

जुवामा हुण्डीमार्फ कारोबार हुने तथ्य समेत प्रहरीले फेला पारेको छ। क्यासिनोमा अवैध जुवा खेलाएर क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव परेको हाे । प्रहरी उपरीक्षक भट्टराईले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको समेत जानकारी दिनुभएकाे छ।