काठमाडौं, असोज ७ । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका तीन प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
यही असोज ५ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार डीआइजीबाट एआइजीमा बढुवा भएका डीआइजीहरु पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न प्रदान गरेसँगै पदस्थापनसमेत गरिएको छ ।
कार्कीलाई प्रहरी प्रधान कार्यालय कार्य/अपराध अनुसन्धान विभाग, राईलाई प्रहरी प्रधान कार्यालय मानवस्रोत/प्रशासन विभाग र बस्न्यातलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको हो ।
सो अवसरमा महानिरीक्षक खनालले बढुवापछिको संगठनलाई योगदान अझै बढी हुने भएकाले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडान राख्दै आफ्नो ज्ञान, सीप क्षमताको राम्रो प्रदर्शन गरी महत्वपूर्ण ढंगले काम गर्नुपर्ने बताए ।
उनले सकारात्मक सोच, संगठनको नीति र कानुनसम्मत् काम गर्नुपर्ने बताउँदै नीतिविपरीत कार्यमा संलग्न जो–कोहीलाई कारबाही गरिने स्पस्ट पारे ।
महानिरीक्षक खनालले संगठनलाई नयाँ उचाइमा पुर्याउन सबैले जिम्मेवारी बोध र असल आचरणका साथ अगाडि बढ्दै संगठन सुधारमा अतुलनीय योगदान प्रदान गर्ने विश्वास व्यक्त गरे ।
बढुवा भएका प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले पदोन्नतिको क्षणमा राष्ट्र, संगठन र नागरिकप्रति अझ बढी सेवा गर्ने उत्साह बढेको बताए ।
उनले संगठनको हित र श्रीवृद्धिका लागि पूर्णव्यावसायिक र थप जिम्मेवार भइ दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस





प्रतिक्रिया दिनुहोस्