Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


एमालेका अध्यक्ष ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल

एमाले निर्वाचनमा जान तयार रहेकाे तर्क

468
Shares

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिन तयार भएको बताउनुभएको छ।

एमालेको मुख्यालय च्यासलमा मंगलबार अनुगमनको क्रममा पुग्नुभएका उहाँले एमाले निर्वाचनमा भाग लिनको लागि तयार भएको बताउनुभएको हो। सरकारले निर्वाचनको लागि वातावरण बनाइरहेको उल्लेख गर्दै उहाँले एमाले तथा राजनितिक दलहरुलाई निर्वाचनमा प्रचारप्रसार लगायतका बातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभयो। स्वतन्त्र, भयरहित र धाँदलीरहित ढंगबाट निर्वाचन गर्ने वातावरण सरकारले मिलाउने उहाँको भनाइ छ। उहाँले एमालेले समेत निर्वाचनमा भाग लिने बताएसँगै देश निर्वाचनमय बनेको बताउनुभयो।

मन्त्री खरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थानहदका सन्दर्भमा पनि सरकार लचिलो बन्नसक्ने संकेत गर्नुभएकाे छ। उहाँले एमालले निर्वाचनमा भाग लिने प्रतिवद्धता जनाएपछि सरकारले पनि निर्वाचनको वातावरण बनाउनको लागि सकेसम्मको लचकता अपनाउने बताउनुभयो । गत भदौ २३ र २४ गतेको घटना छानविन आयोगले पनि काम गरिरहेको सन्दर्भमा सरकारले आफ्नो कार्यक्षेत्रमा र अधिकारले मिल्नेसम्म निर्वाचनको लागि स्थानहद हटाउने लगायतका विषयका काम गर्ने उहाँले जानकारी दिनुभयो।

कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको वातवरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकरात्मक रुपमा लिएर काम अगाडि बढाउने बताउनुभयो। उहाँले वर्तमान अवस्थाको राजनीतिक निकास निकाल्न निर्वाचन बाहेक अर्को विकल्प नभएको पनि बताउनुभएकाे छ।