Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


जेनजी विद्राेह: आयोगले काठमाडाैंका प्रमुख बालेनसँग लियो बयान


1.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाकाे बारेमा राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिनुभएकाे छ।

गत भदौ २३ र २४ गते भएका घटनाको छानबिनका क्रममा आयोगको बोलावटमा शाह सोमबार आयोग पुग्नुभएकाे हाे। आयोग स्रोतका अनुसार करिब दुई घन्टासम्म भएको सोधपुछमा शाहसँग घटनाका दिन उहाँ कहाँ रहेकाे, सामाजिक सञ्जालमा आएका अभिव्यक्ति, सिंहदरबार जलाउने प्रसंग, महानगरको सुरक्षा व्यवस्था तथा दमकल ढिलो पुगेको विषयमा प्रश्न गरिएको थियो। शाहले दिएको जवाफ सार्वजनिक गर्न नमिल्ने भन्दै आयोगले विवरण खुलाएको छैन।

आयोगले भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा मानव अधिकार हनन् र दमन सम्बन्धी विषयमा आयोगका सदस्य लिली थापाको संयोजकत्वमा गठित समितिले छानबिन गरिरहेको छ। हालसम्म १ सय ४६ जनाको बयान लिइसकिएको आयोगले जनाएको छ।

आन्दोलनका क्रममा भएको मानव अधिकार हनन्, प्रहरीको बल प्रयोग, पारदर्शीता र जवाफदेहिता तथा दण्डहीनतालाई आधार बनाएर छानबिन भइरहेको त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको आयोगले जनाएकाे हाे।