Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित (भिडियाे रिपाेर्ट)


624
Shares

काठमाडौं ।
नेपाली कांग्रेसको १५औं महाधिवेशनको समय नजिकिँदै जाँदा महाधिवेशनको कार्यतालिका अनुसार काम हुन सकेको छैन ।

कार्यतालिका प्रभावित हुँदा नेता, कार्यकर्ताहरुमा थप आशंका बढेको छ । पार्टीको क्रियाशील सदस्यता वितरण र व्यवस्थापनमा समस्या देखिएको छ ।

कांग्रेसको १५औं महाधिवेशन उद्घाटनका लागि अब तीन साताको समय बाँकी छ । कांग्रेसले तय गरेको कार्यतालिका अनुसार पुस २६ मा महाधिवेशन आयोजनाको योजना छ । तर, अहिलेसम्म पनि क्रियाशील सदस्यताको विषय टुंगो लाग्न सकेको छैन । यस्तो समस्या आएपछि कांग्रेसले कार्यतालिका अनुसार नै महाधिवेशन गर्नेमा आशंकाहरु पैदा भएका छन् ।

खासगरी विशेष महाधिवेशन पक्षधरहरुले यसमा आशंका व्यक्त गरिरहेको अवस्था छ । पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन र त्यसका लागि पठाइएका सदस्यता फारामहरूको विवादले कांग्रेसको महाधिवेशनको समय तालिकामा समस्या निम्त्याएको छ ।

मंसिर १५ गते सार्वजनिक गरिएको कार्यतालिका अनुसार मंसिर २४ गतेभिक्र सबै जिल्ला समितिहरूले नयाँ त्रियाशील सदस्यता फाराम पार्टी केन्द्रीय समितिमा पठाउनु पर्ने निर्णय गरिएको थियो । तर, देशभर पठाइएका ६ लाख नयाँ क्रियाशील सदस्यता फाराममध्ये लगभग ४ लाख फाराममा सिरियल नम्बर नभएको कारण विवाद उत्पन्न भएको थियो ।

यो समस्या समाधान गर्न कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सिरियिल नम्बर समावेश गरिएका नयाँ फाराम पठाउने निर्णय गरेको थियो । तर, यसमा समेत ढिलाइ हुँदा महाधिवेशनको कार्यतालिका नै प्रभावित बनेको छ । कार्यतालिका अनुसार, कांग्रेसका सबै जिल्लाबाट पुस ११ गतेभित्र नयाँ सदस्यता फाराम केन्द्रमा पठाइसक्नुपर्ने छ ।

यद्यपि, अहिलेसम्म केही जिल्लामा नयाँ क्रियाशील सदस्यता फाराम बुझाउन सकिएको छैन । यस कारण पार्टीको कार्यतालिका प्रभावित हुने निश्चित जस्तै छ । नेता, कार्यकर्ताहरूले समयमा कार्यतालिका पूरा नभएको र फारामको संकलनमा ढिलाइ भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यसले महाधिवेशनको मिति निर्धारणमा पनि समस्या ल्याउन सक्ने अवस्था सिर्जना गरेको छ । महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएपछि कांग्रेसका नेता, कार्यकर्ताहरुमा निराशा छाएको छ । समयमै महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया ढिला हुँदा समस्या आएको छ । यद्यपि, कांग्रेसले समयमै महाधिवेशन गर्नेगरी गतिविधि भने अघि बढाइरहेको छ ।