Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान गर्न सरकारसँग एमालेकाे आग्रह

सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरू गर्न आह्वान गर्ने प्रस्ताव पनि पारित

2.3k
Shares

काठमाडाैं। नेकपा एमालेले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आग्रह गरेको छ।

काठमाडाैंमा बिहीबार पार्टीकाे सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले चर्चामा रहेका सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान शुरु गर्न आह्वान गर्ने प्रस्ताव पारित गरेको हो। प्रस्तावहरुकाे बारेमा जानकारी गराउँदै केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले महाधिवेशनले विगतमा राज्यका उच्च राजनीतिक, प्रशासनिक ओहोदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्नुभयो। दोषी देखिएकाहरुलाई कानून बमोजिम कारबाही गर्न आग्रह गर्दै उहाँले राज्यका अख्तियार प्राप्त निकायले यस विषयमा आवश्यक निर्णय गर्न पनि आग्रह गर्नुभएकाे छ।

नेता ज्ञवालीले एमाले हमेसा सुशासन, पारदर्शीता र स्वच्छताका पक्षमा उभिंदै आएको भन्दै प्रश्न उठ्नासाथ सार्वजनिक ओहोदाबाट राजीनामा दिएर राज्यका अख्तियारप्राप्त निकायलाई सहयोग गर्ने समेत बताउनुभयाे। अभियोजन हुनासाथ कानूनबाट सफाई नपाउँदासम्म पार्टी जिम्मेवारीबाट मुक्त गर्ने परम्परा रहँदै आएको उहाँकाे भनाइ छ।

नेता ज्ञवालीले ११ औं महाधिवेशन राष्ट्रिय स्वाधिनता, लोकतन्त्र र सामाजिक, आर्थिक रुपान्तरणका लागि सञ्चालित विभिन्न आन्दोलन, क्रान्ति र देशभक्तिपूर्ण युद्धमा संलग्न हुने क्रममा रहेकाे बताउनुभयाे।