Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


एमालेको अध्यक्षमा ओली तेस्रो कार्यकालका लागि विजयी, पोखरेल भने पराजित

१९ जना पदाधिकारी मध्ये पोखरेलकाे पक्षबाट विष्ट र भट्टराई मात्रै विजयी

1.4k
Shares

काठमाडाैं। नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी हुनुभएको छ।

एमालेकाे ११औं राष्टिय महाधिवेशन अन्तर्गत काठमाडाैंकाे भृकुटीमण्डपमा बिहीबार सम्पन्न भएकाे मतगणनाकाे सार्वजनिक मतपरिणामले अध्यक्षका प्रतिष्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली लगातार तेस्रो पटक अध्यक्ष निर्वाचित हुनुभएको हो। कुल खसेको २ हजार २ सय २७ मत मध्ये ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गर्नुभएकाे छ। प्रतिष्पर्धी पोखरेललाई ५ सय ६४ मत मात्रै प्राप्त गर्नुभएकाे हाे। ओली र पोखरेलबीचको मतान्तर १ हजार ९९ रहेको छ।

त्यस्तै, एमालेको महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल विजयी हुनुभएको छ। पोखरेलले १ हजार २ सय २८ मतसहित विजयी हुँदा प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९ सय ९९ मत प्राप्त गर्नुभयो। त्यस्तै, उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन् । ५ जना उपाध्यक्षहरु मध्ये गुरुङलाई सबै भन्दा बढी मत प्राप्त भएको छ। त्यस्तै, उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । उपमहासचिवहरु मध्ये भट्टलाई सबै भन्दा बढी १ हजार ४ सय ५२ मत खस्दा रघुवीर महासेठलाई १ हजार ३ सय ६८ र योगेश भट्टराइलाई १ हजार ३ सय ४८ मत प्राप्त भएको छ।

उपमहासचिवमा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल भने पराजित हुनुभएको छ। रिमाललाई १ हजार ९१ मत प्राप्त भएको छ। त्यस्तै, सचिवमा महेश बस्नेत, पद्यमाकुमारी अर्याल, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई र भानुभक्त ढकाल निर्वाचित भएका हुन् । ८ जना सचिवहरु मध्ये महेश बस्नेतलाई सबै भन्दा बढी मत परेको छ।

कूल १९ जना पदाधिकारी मध्ये ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै निर्वाचित भएका छन्।