Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


एमालेको महाधिवेशन: भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त

ठूला भाषण र अनुशासनका कुरा गर्ने एमाले वातावरणीय जिम्मेवारी र सार्वजनिक सरसफाईमा भने चुक्यो

260
Shares

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनस्थल भृकुटीमण्डप उम्मेदवारका प्रचार सामग्रीले अस्तव्यस्त बनेको छ।

नेतृत्व चयनका लागि महाधिवेशन जारी रहँदा प्रचार सामग्री जथाभावी फालिएका कारण फोहोर भएको हो। भृकुटीमण्डप क्षेत्रका सडक, फुटपाथ र खुला स्थानमा उम्मेदवारका पर्चा, पम्पलेट र ब्यानर छरपस्ट रुपमा छरिएका छन्। भोट माग्ने नाममा छरिएका ती सामग्रीले सार्वजनिक स्थल कुरूप बनाउनुका साथै सिंगो क्षेत्रको सौन्दर्य नै बिग्रिएको देखिएको छ।

ठूला भाषण र अनुशासनका कुरा गर्ने एमालेले वातावरणीय जिम्मेवारी र सार्वजनिक सरसफाईमा भने बेवास्ता गरेको देखिन्छ। फोहोर बुधबार बिहान काठमाडौं महानगरपालिकाको ब्रुमर प्रयोग गरी सफा गरिएको हो। एमालेको महाधिवेशन अन्तर्गत बुधबार बिहानदेखि नेतृत्व चयनका लागि मतदान हुने कार्यक्रम रहेको छ।

एमालेको महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका छन् ।