Logo १ पुस २०८२, मंगलबार | Wed Dec 17 2025


सरकारले वर्षौंदेखि आयोजना अलपत्र पारी रूग्ण बनाएका २२ वटा ठेक्का तोड्याे

ठेक्का तोडिएका आयोजनाको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रूपैयाँ

1.3k
Shares

काठमाडाैं। सरकारले ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि आयोजना अलपत्र पारी रुग्ण बनाइएका सिंचाइतर्फका २२ वटा ठेक्का तोडेकाे छ।

ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको हाे। बबई सिंचाइ आयोजनाका ६, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषा अन्तर्गतका १५ र सुनकोशी मरिनको १ गरी २२ वटा रुग्ण ठेक्का तोडिएको छ। भेरी बबईको १ करोड ७६ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको छ । जनकपुरधाम कार्यालय अन्तर्गतका १३ करोड १७ लाख रुपैयाँ बराबरको ठेक्का तोडिएको हाे।

ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री कुलमान घिसिङले काम नभएका अलपत्र ठेक्का अन्त्यका लागि मातहतका निकायलाई निर्देशन दिनुभएको थियो। त्यसपछि कार्यालयलहरुले वर्षौर्ंदेखिका समस्याग्रस्त ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका थिए । जलस्रोत तथा सिंचाइ विभाग अन्तर्गत चालू ठेक्का २ सय १५ छन् । त्यसमध्ये ३३ ठेक्का समस्याग्रस्त छन् । समस्याग्रस्त मध्ये हालसम्म २२ वटा तोडिएको विभागका महानिर्देशक मित्र बरालले जानकारी दिनुभयो। सिंचाइतर्फको सबैभन्दा ठूलो ठेक्का राष्ट्रिय गौरबको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना हो ।

सोही आयोजनाको बाँध, विद्युत गृह लगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि निर्माण व्यवसायी पटेल-रमण जेभी र जनकपुर-९ धनुषासँगको ठेक्का सम्झौता तोडिएको हो। आयोजना निर्माणका लागि पटेल-रमण जेभीसँग १४ अर्ब ८ करोड रुपैयाँ (करसहित) मा ठेक्का सम्झौता भएको थियो।