अक्कल कुँवर/दिलिप पोखरेल (इमेज)
काठमाडौं, असोज ७ । प्रधानमन्त्री केपी शर्मा ओली परम्परालाई निरन्तरता दिँदै ‘जम्बो’ टोलीसहित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क गएका छन् ।
यसअघिका सरकार प्रमुख पनि अनावश्यक ठूलो टोलीको नेतृत्व गर्दै राष्ट्रसंघको महासभामा जाने गरेका थिए ।
संयुक्त राष्ट्रसंघको महासभामा होस् या कुनैपनि विदेश भ्रमण । नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखले भ्रमण टोलीमा अनावश्यक व्यक्तिहरुलाई समावेश गर्ने परम्परा विगतदेखि चल्दै आएको छ । प्रधानमन्त्री ओलीले पनि त्यही परम्परालाई निरन्तरता दिएका छन् ।
६ सदस्सीय टोलीमात्रै गए हुने राष्ट्रसंघको महासभाको बहानामा प्रधानमन्त्री ओलीसँग उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसहित २१ सदस्य अमेरिका गएका छन् ।
राष्ट्रसंघको महासभामा नेपालका सरकार प्रमुखको भ्रमण टोलीको इतिहास हेर्ने हो भने ४९ सदस्यीय टोलीसम्म गएको देखिन्छ ।
नेपालले राष्ट्रसंघको सदस्यता लिएपछि सुरुका केही वर्षमा ६ जनाको टोलीमात्रै जाने गरेको थियो ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पालामा पनि ६ सदस्यीय टोलीलेमात्र महासभामा भाग लिएको थियो । त्यो परम्परा पञ्चायतको धेरै समयसम्म पनि कायम रह्यो ।
तर, त्यसपछिका वर्षहरुमा भने जुनसुकै सरकार प्रमुखले महासभालाई आफन्त र आसेपासेलाई अमेरिका देखाउने अवसरकारुपमा दुरुपयोग गर्ने गरेका छन् ।
वरिष्ठ पत्रकार भैरव रिसालले जम्बो टोली लिएर राष्ट्रसंघ महासभामा जानुको औचित्य नरहेको बताए ।
नेपालले राष्ट्रसंघको प्रत्येक महासभामा भाग लिँदै आएपनि मुलुकका लागि उपलब्धिपूर्ण भने हुन नसकेको टिप्पणी गर्छन्, वरिष्ठ पत्रकार रिसाल ।
वि.सं. २०१४ सालमा तत्कालीन परराष्ट्रमन्त्री तुलाप्रसाद शर्माको नेतृत्वमा तत्कालीन श्री ५ अधिराजकुमार हिमालयविक्रम शाह उपनेता भएर महासभामा भाग लिएको इतिहास छ । यो घटना पनि महासभालाई भ्रमण गर्ने अवसरकै कारण सिर्जना भएको थियो ।
अहिलेपनि महासभामा भाग लिने नाममा आफन्त, नातागोता, पार्टी कार्यकर्ता र आफूनिकट सरकारी कर्मचारीलाई अमेरिका घुमाउने अवसरकारुपमा सरकार प्रमुखले उपयोग गरिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्