Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


संघीय संसद सेवा दिवस आज विविधि कार्यक्रम गरेर मनाइँदै


117
Shares

काठमाडौं। संघीय संसद सेवा दिवस आइतबार विभिन्न कार्यक्रमकाे आयाेजना गरेर मनाइने भएकाे छ।

निजामती सेवाबाट अलग भई स्वायत्त संसद सेवा गठन भएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते साेही दिवस मनाउने गरिन्छ। २०५८ सालमा निजामती सेवाबाट संसद सेवा गठन भएको थियो। संघीय संसद सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएकाे हाे।

नेपालको संविधानको धारा २०७ मा संघीय संसदकाे कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा त्यससम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुने व्यवस्था छ। निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद सेवा विशिष्ट, स्वायत्त र व्यवसायिक सेवा हो।संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद सेवाको गठन गरिएको स्मरणमा प्रत्येक वर्ष मंसिर २८ गते संसद सेवा दिवस मनाउने गरिएको छ।

राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संघीय संसदलाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानून निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ। संसदलाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि र भौतिक सामग्रीलगायत उपलब्ध गराउनु संघीय संसद सचिवालयको कार्य रहँदै आएको छ।

संसद सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय काम कारबाहीमा अविच्छिन्न सहयोग पुगेकाे छ ।