Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


एमालेकाे ११ औं राष्ट्रिय महाधिवेशन: भृकुटीमण्डपमा आज बन्दसत्र शुरू हुँदै

बन्द सत्रमार्फत आगामी ५ वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन हुने

442
Shares

काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबार बन्दसत्र शुरु हुने भएकाे छ।

काठमाडौंको भृकुटीमण्डपमा नयाँ नेतृत्व चयनका लागि आइतबार मध्याह्न १२ बजेदेखि बन्दसत्र शुरु हुने एमालेले जनाएकाे हाे। शनिबार भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको उद्घाटन गरेपछि एमाले आइतबारदेखि नेतृत्व चयन प्रक्रियामा प्रवेश गरेको छ। बन्द सत्रमार्फत आगामी ५ वर्षका लागि पार्टीको नयाँ नेतृत्व चयन हुने भएकाे हाे।

देशैभरीका करिब साढे ६ लाख पार्टी सदस्यहरूमध्येबाट छनोट भएका २ हजार २ सय ६२ जना प्रतिनिधिले एक अध्यक्ष , महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने भएकाे हाे। महाधिवेशनका लागि हालका सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठन भइसकेको छ। त्यस्तै, महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।

नेतृत्व चयनका लागि सहमतिमै टुङ्ग्याउने प्रयास भइरहेको एमालेले जनाएको हाे। सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने भएकाे छ । त्यसका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको हाे। जसको परीक्षण शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरिएको थियो।