Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


सिन्धुलीमा आजदेखि जुनार मेला सुरु


208
Shares

यसोदा राउत
सिन्धुली ।

गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार भन्ने नाराका साथ सिन्धुलीमा आज जुनार जुनार प्रवर्द्वन मेला २०८२ प्रारम्भ गरिएको छ ।

नेपालको मौलिक फलको रुपमा परिचित सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैचामा कृषि पर्यटन प्रवर्द्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उदेश्यले मेलाको आयोजना गरिएको हो ।

सिन्धुलीको गोलन्जोर गाउपालिका स्थित तीनकन्याको माँझकुभिण्डेमा आयोजित जुनारको आर्थिक र पौष्टिक महत्वको वारेमा जानकारी गराउने, जुनार कृषकहरुलाई सम्मान गर्ने समेत मुख्य उदेश्य रहेको जनाईएको छ । मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवर्द्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो ।

गोलन्जोर गाउँपालिकाका मुख्य आयोजना तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश हेटौडा, उद्योग तथा बाणिज्य कार्यालय, सिन्धुली, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ, सिन्धुली, कृषि विकास कार्यालय, सिन्धुली, जुनार विकास संघ, सिन्धुली, जुनार सहकारी संघ, सिन्धुली लगाएत विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको सहकार्यमा जुनार प्रवर्द्वन मेला आयोजना हुन गइरहेको छ ।

जुनार प्रवर्द्वन मेलामा विभिन्न जातजातीको पहिचान झल्किने पहिरन भेषभुषा र बाजागाजा सहित कृषक, कृषक समूह, कृषि सहकारी संस्था, जुनार कृषकबाट झाँकी र्याली प्रस्तुत हुने छ । जुनार प्रवर्द्वन मेला अवलोकन गर्न आउनुहुने दर्शक पर्यटकहरुलाई लक्षित गरि जुनार बगैचाको प्रत्यक्ष अवलोकन, जुनार बगैचामा आफैले जुनार टिपेर खाने, फोटो खिच्ने, बगैचामै मनोरञ्जन गर्ने, जुनार बगैचालाई कृषि पर्यटन सँग जोड्ने उद्देश्यले जुनार बगैचा उत्सव कार्यक्रमको व्यवस्था मिलाइएको छ ।

जुनार प्रवर्द्वन मेलाका अवसरमा जुनार कृषकहरुले भोगिरहेको विभिन्न समस्याहरु रोगकिरा, खाद्यतत्व व्यवस्थापन, प्रशोधन र बजारीकरण लगायतका समस्याहरुको समाधानको उपायवारे केन्द्रित भएर स्थानीय जुनार कृषकहरुले प्रश्न सोध्ने र कृषि विज्ञले जवाफ दिने र निष्कर्ष निकाल्ने कार्यक्रम तय गरिने जनाईएको छ ।

जुनार प्रवर्द्वन मेला अवलोकन गर्न आउनुहुने दर्शक पाकेको जुनार फल र जुनारबाट बनेका विभिन्न परिकारहरु जुस, स्क्वास, जाम, जेली, मार्मालेड, क्यान्डी, साँधेको जुनार लगायतका परिकारहरु साथै स्थानीय कृषि उपजहरु र स्थानीय रुपमा उत्पादित अचार, ढाकाबाट बनेका सामाग्रीहरु, मायाको चिनो लगायतका प्रदर्शनी र बिक्री स्टलहरुको व्यवस्था गरिएको छ ।

जुनार प्रवर्द्वन मेला २०८२ को खर्च अनुमान र मेला अवलोकन
जुनार प्रवर्द्वन मेला २०८२ सम्पन्न गर्न करिब १६ लाख ५० हजार रुपैया खर्च हुने अनुमान गरिएको छ भने,करिब ९००० दर्शक पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

जिल्लामा जुनार खेती लगाएको कूल क्षेत्रफल १११३ हेक्टर रहेकोमा उत्पादनशील बोटहरुले ढाकेको क्षेत्रफल ७५० हेक्टर रहेको अनुमान गरिएको छ । जसको उत्पादकत्व १३.०३ मे.टन प्रतिहेक्टर रहेको छ । गोलन्जोर गाउँपालिकाको वडा न. १ देखी वडा न। ७ सम्म सवै वडामा जुनार खेती भइरहेको छ ।

जसमध्ये सवैभन्दा धेरै वडा न ४ तिनकन्या माझकुभिण्डे, मालिङ्गे, आलेगाउँ, डाँडागाउँ, लगायतका क्षेत्रमा जुनार खेती भइरहेको देखिन्छ । यस गाउँपालिकामा मात्रै जिल्लामा रहेको जुनार खेतीको करिब ९० प्रतिशत १००० हेक्टर क्षेत्रफल रहेको छ ।
जसमध्ये उत्पादनशील बोटहरुले ढाकेको क्षेत्रफल ७०० हेक्टर रहेको छ । १३.०३ मे.टन प्रति हेक्टर उत्पादकत्वको दरले जम्मा ९१२१ मे.टन उत्पादन भएकोमा ३१.८३ प्रतिशत कृषकको उपभोग विभिन्न रोगकिराको संक्रमणले हुन गएको क्षति कटाएर बजारमा आउने कूल उत्पादन ६२१८ मे.टन हुन्छ ।

यसको औषत मूल्य रु ५५ र प्रति केजी का दरले बिक्री गरेकोमा गोलन्जोर गाउँपालिकामा मात्रै रु ३४,१९,९०,००० ९चौतिस करोड उनाइस लाख नब्बे हजार रुपैयाँ बराबर आम्दानी गर्न सफल भएका छन् । यस गाउँपालिकामा जुनार खेतीमा २७५० कृषक परिवार संलग्न रहेका छन् ।